भारतमा एकै दिन अहिलेसम्मको सबैभन्दा धेरै ७५ हजार भन्दा बढी कोरोना सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा त्यहाँका सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो ७५ हजार ७६० जना सङ्क्रमित भएका छन् ।
योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ३३ लाख १० हजार २३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म कुल ६० हजार ४७२ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्क छ । तीमध्ये एक हजार २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
कुल सङ्क्रमितमध्ये ७ लाख २५ हजार ९९१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रणमुक्त भएकाहरुको संख्या २५ लाख २३ हजार ७७२ पुगेको जनाइएको छ ।