कोरोनाले शिशुको मृत्युदर बढ्यो, ध्यान दिन विज्ञको सुझाव !

 कोरखबर   ७ भदौ, २०७७



काठमाण्डौ- केही दिनअघि नेपालमा नवजात शिशुको मृत्युदर तीन गुणाले बढेको एक अध्ययन प्रतिवेदन सार्वजनिक भयो । विश्वकै सबैभन्दा पुरानो स्वास्थ्य सम्बन्धी जर्नल ल्यानसेटले कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनपछि नेपालमा शिशुको मृत्युदर तीन गुणाले बढेको जनाएको थियो ।

यस्तै अध्ययनमा स्वास्थ्य संस्थामा हुने जन्ममा पनि ५० प्रतिशतले कमी आएको जनाइएको थियो । यस्तै जन्मेको २४ घण्टाभित्रै सुत्केरीमा हुने समस्याका कारण नवजात शिशुको मृत्युदर पनि उच्च रहेको देखिएको छ । नवजात शिशु मृत्युदरमा दुई तिहाई शिशुको मृत्यु २४ घन्टा भित्रै हुने गर्छ । 

कोरोनाका कारण भएको लकडाउनपछि घरमै ज्यान गुमाउने शिशुको संख्या झनै डरलाग्दो छ । लकडाउनको अवधिको तीन महिनामा निकालिएको तथ्यांकमा एक हजार ३८ शिशुको घरमै र २ सय ८४ शिशुको स्वास्थ्य संस्थामा ज्यान गएको छ  । 

यो तथ्याङ्क गएको वर्षको तुलनामा निकै नै बढी हो । पहिला घरमा भन्दा स्वास्थ्य संस्थामा हुने शिशुको मृत्युदर बढी हुने गरेको थियो । मानिसमा कोरोनाको डरका कारण अस्पताल नजानाले पनि घरमा हुने मृत्युदर बढेको हुन सक्ने पोषणविद् डाक्टर कल्पना तिवारी बताउनुहुन्छ । 

कोरोनाको सङ्क्रमण हुन सक्ने डरले घरमै जोखिम मोलेर सुत्केरी हुँदा शिशु मृत्युदर बढेको हुन सक्ने उहाँको भनाइ छ । शिशु मृत्युदर नेपालमा पहिलेदेखि नै उच्च छ ।  शिशुको ज्यान जाने अरु पनि धेरै कारण छन् ।  

गर्भावस्थादेखि नै आमाले खानपानमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । बच्चा पेटमा भएदेखि नै सरसफाई र पोषिलो खानेकुरा खानुपर्छ । बच्चा जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराएमा शिशु मृत्युदर कम हुने सम्भावना हुन्छ ।  -उज्यालो



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post