काठमाडौं, २३ साउन । कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेपछि संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार र बिहीबार संक्रमण पुष्टि भएकाहरुमध्ये १२ जना सम्पर्कविहीन भएको पिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो । तर विहीबार ९ जना सम्पर्कमा आएका छन् । बाँकी ६ जनाको कुनै अत्तोपत्तो छैन । विहीबार देखिएका संक्रमितमध्ये ५ जना सम्पर्कविहीन भएका छन् । बिहीबार काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना देखिएको थियो ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार सम्पर्कबाहिर रहेका केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेका छन् । इडिसिडीले स्वाब संकलन गरेकामध्ये केहीले अपुरो सम्पर्क नम्बर दिएको जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भन्नुभयो, ‘केही संक्रमितलाई सम्पर्क गर्न खोज्दा मोबाइल अफ छ । सम्पर्क गर्न खोज्दा केहीको गलत नम्बर रहेछ । संक्रमितको पहिचानका लागि नम्बर ट्र्याक गर्न नेपाल टेलिकम, प्रहरीलगायतका निकायको सहयोगमा खोजिरहेका छौं ।’
संक्रमितहरू सम्पर्क बाहिर रहँदा कन्ट्याक्ट ट्रेसिङलगायतमा समस्या हुने गर्छ । जसले गर्दा संक्रमितको सम्पर्कमा आएकाहरू थप जोखिममा पर्ने चिकित्सकको भनाइ छ ।