वीरगंजमा ४३ जना कोरोनाका नयाँ विरामी थपिए , डाक्टर, सैनिक र नेता समेत संक्रमित

 कोर खबर   २२ सावन, २०७७



काठमान्डौ– पर्साको वीरगंजमा ३७ पुरुष र ६ महिला गरी ४३ जना कोभिड १९  का नयाँ संक्रमित थपिएका छन्। जसमध्ये दुई जना बाराका र ४१ जना पर्साको विभिन्न ठाउँमा बसोबास गर्ने रहेका जनाईएको छ । संक्रमितहरु ७ वर्षदेखि ७३ वर्ष उमेर समूहका छन्।

संक्रमित हुनेमा नारायणी अस्पतालका एक जना चिकित्सकको कन्ट्याक्ट ट्रेसिङमा परेका महोत्तरी घर भई वीरगंजमा बस्ने ३७ वर्षिय डाक्टर, चण्डी प्रसाद गण वीरगंजका विभिन्न उमेर समूहका ११ जना नेपाली सेनाका सुरक्षाकर्मी रहेका छन् ।

त्यस्तै नेपाली काँग्रेसका ५६ वर्षिय नेता, वीरगंज महानगरभित्रका एक माध्यमिक विद्यालयका ४७ वर्षिय प्रधानाध्यापक, नेपाल इन्भेष्टमेन्ट बैंकका २८ वर्षिय कर्मचारी, लायन्स क्लब वीरगंजका दुई जना पदाधिकारीमा पनि संक्रमण देखिएको छ।

त्यसैगरी, वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका एक जना ३० वर्षिय पुरुष कर्मचारी र अस्पतालमा डायलासिस गराउने वीरगंज ८ गहवाकी ३५ वर्षिया महिलामा पनि कोरोना संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ।  नारायणी अस्पतालकै दुई कर्मचारीमा पनि संक्रमण देखिएको छ।

उता गण्डक अस्पतालमा उपचाररत वीरगंज–४ विर्ताका ४० र ५० वर्षका दुई जना शंकास्पद पुरुष विरामीमा पनि कोरोना पुष्टि भएको छ। यता पर्सा पटेर्वा सुगौलीका ३३ वर्षिय पुरुष, बारा, प्रसानै २ का ७३ वर्षिया महिला र देवताल गाउँपालिकाका २२ वर्षिया महिलामा पनि संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post