पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु सप्तरीमा उस्तै लक्षण देखिएका ३ जनाको ज्यान गयो

 कोर खबर   २१ सावन, २०७७



२१ साउन, वीरगञ्ज । पर्सामा कोरोना संक्रमणबाट बुधबार थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षकी युवतीको मृत्यु भएको हो ।

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । १४ मध्ये १२ जना पर्साकै हुन् । एउटा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसबाहेक बाराका २ जना र रौतहटका १ जनाको पनि वीरगञ्जमै उपचारका क्रममा मृत्यु भएको छ ।

४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिए ।

उता सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखापरेका तीन जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जनाको र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो ।

जिल्लाको रुपनी गाउँपालिका ५ स्थित गढियामा डेढ् महिनाअघि मलेसियाबाट आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका ती पुरुषलाई मंगलबार एक्कासी ज्वरो र श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार हुन नसकी धरानतर्फ पठाइएको तर उनको बाटोमै मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले जानकारी दिए ।

यस्तै, राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार गराउन भर्ना भएका दुई जनाको पनि मृत्यु भएको छ । श्वास फेर्न गाह्रो भएपछि दुवैलाई उपचारका लागि गत साउन १५ गते सो अस्पतालमा भर्ना गरिएको थियो । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका ७१ वर्षीय वृद्ध रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post