१९ साउन, काठमाडौं । पर्सामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । संक्रमितहरु १० वर्षदेखि ६७ वर्ष उमेर समूहका छन् ।
संक्रमित हुनेमा प्रहरीका दुई जना, सेनाका एक जना, पत्रकार एक जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना, बारा जिल्लाका पाँच जना र भारतीय नागरिक एक जना छन् । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ ।
संक्रमित र मृतकको संख्या बढ्न थालेपछि त्यहाँ जिल्लाभरी निषेधाज्ञा जारी गरिएको छ । साउन १० देखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा जिल्लाभर विस्तार गरिएको हो ।