कोरोना संक्रमित थुनुवाको घरपरिवार तथा छिमेकीसहित १६ जनाको स्वाब संकलन

 कोर खबर   १८ सावन, २०७७



बैतडी । आफ्नै आमाको बलात्कारको आरोप लागेर थुनामा रहेको बैतडीको पुर्चौंडी नगरपालिका १० का ३२ वर्षीय कोरोना संक्रमित थुनुवाको घरपरिवार तथा छिमेकीसहित १६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । 

गत सोमबार कोरोना संक्रमण पुष्टि भएका थुनुवा गत मंसिरमै भारतबाट फर्केका र ट्राभल हिस्ट्री नभएका व्यक्ति भएकाले उनका घर परिवारको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

आफ्नै आमामाथि बलात्कारको आरोप लागेका ती युवा गत असार ३१ गते पक्राउ परेका थिए । प्रहरी हिरासतमै रहेका बेला स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । 

थुनुवामा कोरोना देखिएपछि समुदायमा कोरोना फैलिएको आशंकामा सम्पर्कमा रहेका घरपरिवारका सदस्यको स्वाब संकलन गरिएको भट्टले बताए । थुनुवा संक्रमितलाई जिल्ला अस्पातलको आइसोलेसनमा राखिएको छ । यसअघि थुनुवाको संम्पर्कमा रहेका २० प्रहरी, ३ जना अन्य थुनुवा, पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ए जना डाक्टर र र भारतबाट फर्केका २ जनासहित २६ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोट नेगेटिभ आएको थियो । 

इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरीहरुको कोरोना रिपोट नेगेटिभ आएपछि सेवाग्राहीलाई आवतजावत गर्न दिइएको छ । गत सोमबारदेखि सेवाग्राहीका लागि बन्द गरिएको इलाका प्रहरी कार्यालय प्रहरीहरुको कोरोना रिपोट नेगेटिभ आएपछि खुला गरिएको प्रहरी निरीक्षक धनदेव साउँदले बताए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post