काठमाडौं । साउदी अरबमा अलपत्र नेपालीहरुलाई स्वदेश फर्काउनका लागि उडान तालिका सार्वजनिक भएको छ । त्यहाँ रहेका नेपाली महावाणिज्यदूतावासको पहलमा साउन ७ गते (जुलाई २०) मा हुने भनिएको उडान साउन १८ गते (अगस्त २) हुने भएको छ ।
महावाणिज्य दूतावासअन्तर्गत १८ साउनमा हुने चौथो उडानका लागि असार २८ गते (१२ जुलाई) मा प्रकाशित नामसूचीअनुसार क्रम संख्या ५०० सम्म हुने दूतावासले एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ । उक्त उडानमा स्वदेश फर्कन पाउने नेपालीहरुले टिकट काटिसकेपछि मात्र कोरोना परीक्षण गर्न दूतावासले अनुरोध गरेको छ ।
साउदीको जेद्दाबाट हुने पाँचौं उडानका लागि साउन २४ गते लाई मिति तोकिएको छ । साउन २४ गतेको पाँचौं उडानका लागि असार १८ गतेको चौथो उडानपछि मात्र कोरोना परीक्षण गरी टिकट खरिद प्रक्रिया अगाडि बढाउन दूतावासले अनुरोध गरेको छ। दूतावासले असार २८ गतेको नामअनुरुप क्रम संख्या ५०१ देखि १२९८ सम्म नाम हुनेले टिकटको प्रक्रिया अगाडि बढाउन सुझाएको छ ।
यसअघि सूचीमा नाम प्रकाशित भएका नेपालीहरू पनि पाँचौं उडानका लागि प्राथमिकतामा रहने विज्ञप्तिमा जनाएको छ ।