गत कात्तिक २७ गते फुङलिङ नगरपालिका–४ क्याम्पस लाइनमा शंकास्पद अवस्थामा मृत फेला परेका सोमराज गुरुङको मृत्युबारे अनुसन्धान गरिरहेको ताप्लेजुङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक बिन्देश्वर यादवका अनुसार गुरुङको मृत्यु भएपछि प्रारम्भिक अनुसन्धानका क्रममा शंकास्पद देखिएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। थप अनुसन्धानका लागि ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको उनले जानकारी दिए।
प्रहरी निरीक्षक यादवका अनुसार पक्राउ पर्नेमा सिरीजङ्घा गाउँपालिका–३ सिकैचाका २६ वर्षीय प्रीतिहाङ लिम्बू र सिदिङ्वा गाउँपालिका–७ घर भई हाल फुङलिङ नगरपालिका–४ मा बस्दै आएका ३८ वर्षीय बिना साउदेन गुरुङ रहेका छन्।

सिदिङ्वा गाउँपालिका–७ घर भई हाल फुङलिङ नगरपालिका–४ मा बस्दै आएका ५५ वर्षीय सोमराज गुरुङ गत कात्तिक २७ गते मकैबारीमा मृत अवस्थामा फेला परेका थिए।
पक्राउ परेका व्यक्तिहरू हत्या गर्ने उद्देश्यले घटनामा संलग्न रहेको आशंका गरिएको र प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू घटनासँग सम्बन्धित शंकास्पद देखिएकाले विस्तृत अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।