अर्थतन्त्र

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि कायम हुने बताएका छन् ।

विराटनगरमा आज आयोजित एक कार्यक्रममा उहाँले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले लिएको बताए ।

मन्त्री वाग्लेले भ्रष्टाचारले व्यवसायको लागत बढाउने, पहुँचका आधारमा अवसर बाँडिने र प्रतिस्पर्धा कमजोर बनाउने धारणा राखे । उनले सरकारी निकायमा अनावश्यक आर्थिक माग, बिचौलियाको हस्तक्षेप वा कानुनसम्मत काममा अवरोध भए सरकारसमक्ष जानकारी दिन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

विज्ञापन

अर्थमन्त्री वाग्लेले यस्ता विषयमा शून्य सहनशीलताका साथ कारबाही अगाडि बढाइने जानकारी दिए । उनले कानुनसम्मत निजी सम्पत्ति, उद्योग, व्यवसाय र लगानीको सुरक्षा सरकारको आधारभूत जिम्मेवारी रहेको उल्लेख गरे । असुरक्षाको अनुभूति भए सरकारले सम्बोधन गर्ने र समान अवसर तथा निष्पक्ष प्रतिस्पर्धाको वातावरण बनाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

अर्थमन्त्री वाग्लेले आउँदो चार महिनालाई सुधारलाई परिणाममा बदल्ने महत्त्वपूर्ण अवधिका रूपमा लिइएको बताए । निजी क्षेत्रको सहकार्यमा सरकारले सुधारको गति बढाउँदै गर्दा निजी क्षेत्रले पनि नयाँ उद्योग, क्षमता विस्तार, आधुनिक प्रविधि, कृषि प्रशोधन, ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका योजना अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

अर्थमन्त्री वाग्लेले उत्पादन लागत घटाउने, रोजगारी सिर्जना गर्ने र राज्य तथा निजी क्षेत्रबीच साझा प्रतिबद्धतामार्फत आर्थिक रूपान्तरणलाई तीव्र बनाउने सरकारको प्राथमिकता रहेको बताए । उनले बेरोजगारी र मूल्यवृद्धिलाई गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै आर्थिक वृद्धिको प्रतिफल नागरिकको दैनिक जीवनसँग जोडिने गरी विस्तार गर्नुपर्नेमा जोड दिए ।

वर्तमान सरकार हजारौँ उद्यममार्फत रोजगारी सिर्जना गर्ने वातावरण बनाउने, युवाहरूलाई कृषि, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र आधुनिक सेवा क्षेत्रमा अवसर दिने तथा विप्रेषण, उपभोग, आयात र राजस्वमा निर्भर चक्रलाई तोडेर बचतलाई लगानी, उत्पादन र निर्यातमा रूपान्तरण गर्ने उद्देश्यमा रहेको उनले स्पष्ट पारे ।

पूर्वी नेपाल तथा विराटनगरको औद्योगिक विरासतलाई नयाँ पुस्ताको अवसरसँग जोड्दै कृषि प्रशोधन, भण्डारण, गुणस्तर प्रमाणीकरण, निर्यात र जलविद्युत्लाई औद्योगिक प्रतिस्पर्धाको आधार बनाउनुपर्ने उनको भनाइ थियो ।

सरकारले अनावश्यक अवरोध हटाउने, लगानी सुरक्षा सुनिश्चित गर्ने र जवाफदेही बन्ने काम गर्ने उल्लेख गर्दै उनले निजी क्षेत्रलाई पनि नयाँ उद्योग खोल्न, प्रविधि अपनाउन, गुणस्तर बढाउन, नयाँ निर्यात बजार खोज्न र रोजगारी सिर्जना गर्न आह्वान गरे ।

उनले राज्यले कार्यशैली तथा चरित्र बदल्ने र निजी क्षेत्रले लगानीको गियर बदल्नुपर्ने आवश्यकता औँल्याए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।