चिनियाँ राष्ट्रपति सी जिङपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सहकार्यमा चीन र अमेरिकाबीचको सम्बन्धलाई नयाँ दिशा दिएको बताएका छन्।
उनले दुई देशबीचको सम्बन्ध आपसी सम्मान, निष्पक्षता र पारस्परिक हितका आधारमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएका हुन्।
बिहीबार चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा भएको द्विपक्षीय भेटवार्तामा सी र ट्रम्पबीच व्यापार, अन्तर्राष्ट्रिय सुरक्षा, आणविक हतियार नियन्त्रण तथा क्षेत्रीय स्थायित्वका विषयमा छलफल भएको थियो।

सीले दुई देशबीच रणनीतिक स्थायित्व कायम गर्ने उद्देश्यसहित रचनात्मक सम्बन्धको नयाँ आधार तयार भएको बताए।
चीन–अमेरिका सम्बन्धलाई सही दिशामा अघि बढाउन ट्रम्पसँग सहकार्य गर्न आफू इच्छुक रहेको उनको भनाइ थियो।
म तपाईंसँग काम गर्न दृढ प्रतिबद्ध छु,’ सीले ट्रम्पलाई भने। उनले पछिल्लो समय दुई देशबीचको सम्बन्ध समग्रमा स्थिर रहेको र सुधारको दिशामा अघि बढिरहेको पनि बताए।
ट्रम्पले पनि सीसँग आफ्नो व्यक्तिगत सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै दुई देशबीच सहकार्यका सम्भावना प्रशस्त रहेको बताए।
सन् २०१७ मा चीनको पहिलो राजकीय भ्रमण गरेयता आफू र सीबीच उत्कृष्ट सम्बन्ध विकास भएको उनको भनाइ थियो।
व्यापारिक सम्बन्ध सुधारमा जोड
वार्ताका क्रममा ट्रम्पले चीन र अमेरिकाबीचको व्यापारिक सम्बन्ध पहिलेको तुलनामा सन्तुलित बन्दै गएको दाबी गरे।
उनले दुई देशबीच भन्सार शुल्क घटाउने पारस्परिक व्यवस्थालाई सकारात्मक उपलब्धिका रूपमा प्रस्तुत गरे।
अमेरिकी किसानका उत्पादनका लागि चिनियाँ बजारमा थप अवसर उपलब्ध गराउन पनि ट्रम्पले सीसँग आग्रह गरे।
चीनमा कृषि उत्पादनको ठूलो माग रहेको उल्लेख गर्दै त्यसबाट अमेरिकी किसानले लाभ लिन सक्ने उनको भनाइ थियो।
‘हामीले राम्रो गरेका छौं र तपाईंले पनि राम्रो गर्नुभएको छ। हाम्रा किसानहरूले धेरै राम्रो गरेका छन्,’ट्रम्पले भने,‘ म तपाईंलाई हाम्रा किसानहरूको लागि अझै केही गर्न आग्रह गर्नेछु किनभने चीनसँग अतृप्त भोक छ…र हामी त्यो भोक पूरा गर्न सक्छौं।’
यस्तै, ट्रम्पले पछिल्लो डेढ वर्षमा दुई देशबीच आर्थिक सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण प्रगति भएको बताए। व्यापारदेखि लगानी र क्षेत्रीय मुद्दादेखि विश्व शान्तिसम्मका विषयमा अमेरिका र चीनले नेतृत्वदायी भूमिका खेल्न सक्ने उनले बताए।
हर्मुज जलमार्ग र इरानबारे साझा चासो
ट्रम्पले अमेरिका र चीन दुवैको हर्मुज जलमार्गबाट ऊर्जा आपूर्ति निर्बाध रूपमा सञ्चालन हुनुपर्ने विषयमा समान चासो रहेको बताए। इरानले आणविक हतियार प्राप्त गर्न नहुने विषयमा पनि दुवै देशको धारणा मिल्ने उनको भनाइ थियो।
यसका अतिरिक्त अमेरिकामा फेन्टानिलसम्बन्धी समस्या समाधान गर्ने विषयमा समेत चीनसँग सहकार्यको सम्भावना रहेको ट्रम्पले बताए।
रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासबारे चर्चा गर्दै ट्रम्पले दुवै पक्षलाई सहयोग गर्ने प्रयास भइरहेको बताए।
ट्रम्पले भने, ‘हामी रूस र युक्रेनसँगको युद्धको सन्दर्भमा दुवैलाई सहयोग गर्न खोजिरहेका छौं र उनीहरू युद्धको अन्त्य भएको हेर्न चाहन्छन्। दुई देशबीचको सम्बन्ध ‘समग्रमा स्थिर’ र ‘सुधार भइरहेको’ छ।’
उनले युद्धका कारण प्रत्येक महिना ठूलो संख्यामा सैनिकको ज्यान गइरहेको उल्लेख गर्दै युद्ध अन्त्य हुनुपर्नेमा जोड दिए।
सेन्जेनको विकाससँग सम्बन्धको तुलना
सीले चीनको प्रविधि तथा आर्थिक केन्द्रका रूपमा विकसित सेन्जेन सहरको उदाहरण दिँदै चीन–अमेरिका सम्बन्धलाई पनि नयाँ उचाइमा पुर्याउन सकिने बताए।
उनले चार दशकअघि सानो माछा मार्ने गाउँका रूपमा रहेको सेन्जेन अहिले अन्तर्राष्ट्रिय महानगरमा परिणत भएको बताए। यो परिवर्तन नयाँ सोच, प्रयोग गर्ने साहस, नेतृत्व र निरन्तर मेहनतका कारण सम्भव भएको उनले बताए।
चीन र अमेरिकाबीच रचनात्मक सम्बन्ध निर्माण गर्न पनि यस्तै साहस, व्यावहारिक सोच र निरन्तर प्रयास आवश्यक रहेको सीको भनाइ थियो।
दुई विश्वशक्ति अमेरिका र चीनबीच पछिल्लो समय व्यापारिक प्रतिस्पर्धा, भूराजनीतिक तनाव र सुरक्षा चुनौती बढिरहेका बेला भएको यो भेटवार्तालाई द्विपक्षीय सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।