अर्थतन्त्र

सार्वजनिक बिदामा पनि खुले राजस्व कार्यालय

सरकारले सार्वजनिक बिदाका दिन सोमबार पनि देशभरका राजस्व कार्यालय खुला राखेर करदातालाई सेवा दिएको छ।

कात्तिक मसान्तमा आय विवरण दाखिला, कर बक्यौता फरफारक र आर्थिक ऐनले प्रदान गरेका छुट तथा सुविधा उपयोग गर्ने अन्तिम दिन भएकाले आन्तरिक राजस्व विभागले कार्यालय खुला राख्ने व्यवस्था गरेको हो।

विभागले ललितपुरस्थित ठूला करदाता कार्यालय, बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालय र देशभरका सबै आन्तरिक राजस्व कार्यालय खुला राखेको थियो। करदाताको चाप र अन्त:शुल्कजन्य वस्तुको निष्कासनसम्बन्धी कामलाई ध्यानमा राखेर सेवा सञ्चालन गरिएको विभागले जनाएको छ।

विज्ञापन

विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशीले सार्वजनिक बिदाका दिन पनि राजस्व परिचालन प्रभावित हुन नदिन सबै कार्यालयबाट सेवा प्रदान गरिएको बताए। उनका अनुसार राजस्व संकलन गर्ने बैंकसँग समन्वय गरी कार्यालय सञ्चालन गरिएको थियो। ‘सोमबार दिनभर सेवाग्राहीलाई सेवा दिन कुनै कमी गरिएको छैन’, उनले भने, ‘कात्तिक मसान्तसम्मको राजस्व संकलनको यकिन विवरण भने सोमबार राति १२ बजेसम्मको दाखिला समेट्नुपर्ने भएकाले भोलि मात्र उपलब्ध हुनेछ।’

विभागले राजस्व संकलनलाई सहज बनाउन नेपाल राष्ट्र बैंकको बैंकिङ विभाग र नेपाल क्लियरिङ हाउससँग समेत समन्वय गरेको थियो । राष्ट्रिय भुक्तानी प्रणालीमार्फत हुने राजस्व दाखिलालाई सहज बनाउन विशेष व्यवस्था गरिएको विभागले जनाएको छ।

तिहारलगायतका लगातार सार्वजनिक बिदाका कारण करदातालाई समयमै दायित्व पूरा गर्न कठिनाइ हुन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको विभागको भनाइ छ। कात्तिक मसान्त गत आर्थिक वर्षको आय विवरण बुझाउने, आर्थिक ऐन २०८३ ले दिएका छुट सुविधा उपयोग गर्ने र कर बक्यौता फरफारक गर्ने अन्तिम समयसीमा थियो।

यसैबिच विभागले मंगलबार मंसिर १ गते विशेष कार्यक्रम आयोजना गरी कर दिवस मनाउने भएको छ। कर दिवसका अवसरमा सरकारले सबैभन्दा बढी कर बुझाउने व्यक्ति तथा संस्थालाई उत्कृष्ट करदाता सम्मान प्रदान गर्ने कार्यक्रमसमेत राख्दै आएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।