राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आइतबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहको भारत भ्रमण सफल, उपलब्धिपूर्ण र सुखद रहोस् भन्ने कामना गरेका छन्।
उनले दुई देशबीचको ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न भ्रमणले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरेका छन्।

आचार्यका अनुसार भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले पार्टी सभापतिसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएका थिए। उक्त अवसरमा सभापतिले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत भ्रमणमा गएको छ। प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन्।
दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको रास्वपाले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।