प्रहरीले देशका ६ जिल्लाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। खैरो हेरोइन, ब्राउनसुगर र नियन्त्रित औषधिसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-२ चौकीटोलबाट ७ सय मिलिग्राम खैरो हेरोइनसहित कैलाश गाउँपालिका-१० घर भई डेरा बस्ने २२ वर्षीय बिनोद थिङसहित चार जनालाई प्रहरी चौकी चौकीटोलले सोमबार साँझ पक्राउ गरेको छ।
यस्तै, हेटौंडा-२ लोकप्रिय मोडबाट १ सय ५० मिलिग्राम खैरो हेरोइनसहित बागमती गाउँपालिका-६ फापरबारीकी २५ वर्षीया रूपा विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लियो।

बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुर चोकबाट ७ सय ८० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका २० वर्षीय समोहित परियार पक्राउ परेका छन्।
यस्तै, गुलरियाकै बाइपास रोडबाट २ सय मिलिग्राम ब्राउनसुगरसहित बाँके खजुरा गाउँपालिका-२ की २३ वर्षीया दिपिका वलीलाई प्रहरी चौकी महम्मदपुरले नियन्त्रणमा लिएको छ।
उदयपुरको चौदण्डीगढी नगरपालिका-३ पैतालिस चोकबाट नियन्त्रित लागूऔषध डाइक्लोमाइन ९० ट्याब्लेट र ट्रामाडोल ९० ट्याब्लेटसहित सोही ठाउँका ४२ वर्षीय लक्ष्मण राईसमेत दुई जनालाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरेको छ।
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-१७ पिप्रैयाबाट यूपि ५६ यू ७१६६ नम्बरको मोटरसाइकलमा सवार पाल्हीनन्दन गाउँपालिका-३ का ३५ वर्षीय गुलाम जिलानी अन्सारी पक्राउ परेका छन्। उनको साथबाट करिब ८ सय ९० मिलिग्राम ब्राउनसुगर र १२ ट्याब्लेट नाइट्राजेपाम बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका-७ प्रगति चोकबाट १ ग्राम ७ सय ५० मिलिग्राम ब्राउनसुगरसहित २० वर्षीय सुमन बस्नेत र कैलालीको लम्कीचुहा नगरपालिका-३ चिसापानीबाट १ सय ३० मिलिग्राम खैरो हेरोइनसहित कालिकोट खाँडाचक्र नगरपालिका-३ का २९ वर्षीय जगदिश पाण्डे पक्राउ परेका छन्।
लागूऔषधसहित पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयहरूले थप अनुसन्धान अघि बढाएका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।