नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको हवाई रुटसम्बन्धी सहमतिलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्।
प्रेस चौतारी नेपाल दाङले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले हवाई रुटसहमतिलाई सकारात्मक लिनुपर्ने बताउँदै त्यसको कार्यान्वयनमा आशङ्का व्यक्त गरे।
उनले विगतमा पञ्चायतकालमा समेत यस्तै सहमति भएको स्मरण गराउँदै भने, ‘एयर रुटको सहमति सकारात्मक भएको छ। तर कार्यान्वयन प्रमुख कुरा हो। पञ्चायतमा पनि यस्तो सहमति भएको थियो, तर कार्यान्वयनमा आएन।’

प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकामा ग्रेटर नेपालको नक्सा राखेर बसेका सन्दर्भ उल्लेख गर्दै भारत भ्रमणका क्रममा सीमा र ऐतिहासिक सन्धिसम्बन्धी विषय उठाउने अपेक्षा आफूले गरेको उनले बताए।
‘ग्रेटर नेपालको नक्सा काठमाडौं महानगरपालिकामा टाँसेर बस्ने प्रधानमन्त्रीले नेपाल–भारत सीमाका बारेमा छलफल गर्नुहोला भन्ने लागेको थियो। कम्तीमा सुगौली सन्धिपछिका विषयमा छलफल हुनुपर्थ्यो। तर त्यो छलफलको विषय नै बनेन,’ उनले भने।
उनले सन् १९५० को नेपाल–भारत सन्धिको विषयमा समेत प्रधानमन्त्रीले प्रवेश गर्न नसकेको टिप्पणी गरे। त्यसैगरी, नेपाली चिया, अलैँची तथा तरकारी भारतीय बजारमा सहज रूपमा प्रवेश गर्न नसकिरहेको समस्यालाई भ्रमणको एजेण्डामा समेट्न नसकिएको उनको भनाइ थियो।
‘भारतबाट आउने उत्पादनले प्राथमिकता पायो, तर आफ्नो उत्पादन भारतमा पुर्याउने कुरामा ध्यान गएन,’ पोखरेलले भने।
यस्तै, महासचिव पोखरेलले वर्तमान सरकार गठन हुँदा नागरिकले सुशासन र विकासको अपेक्षासहित मतदान गरेको भए पनि ती अपेक्षा पूरा हुन नसकेको बताए।
उनले सरकारले विगतमा ‘नो लाइन’को नारा दिए पनि अहिले सरकारी सेवा प्रवाहमा झन् अव्यवस्था देखिएको टिप्पणी गरे।
‘पहिलो कुरा त यो सरकारलाई जनताले किन मतदान गरे भन्ने कुरा प्रमुख हुन्छ। सुशासन र विकासका लागि नागरिकले मतदान गरेका थिए। सुशासनका लागि उहाँहरूले ‘नो लाइन’ भन्नुहुन्थ्यो, तर विगतको भन्दा भद्रगोल भएको छ,’ उनले भने।
विदेश जाने युवाको सङ्ख्या र लाइन बढिरहेको, नेपालमा लगानी भित्र्याउने वातावरण निर्माण हुन नसकेको तथा विकास निर्माणका कामले गति लिन नसकेको उनको टिप्पणी छ।
सरकारले पुँजीगत खर्च गर्न नसकेको विषय उठाउँदै उनले विकास निर्माण सरकारको प्राथमिकतामा पर्न नसकेको बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।