मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा भएको भयावह ईभी हाइस दुर्घटनाले सर्लाहीको एउटा गाउँलाई शोकमा डुबाएको छ। दुर्घटनामा एकै परिवारका ६ जनासहित १४ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा आठ महिनाकी गर्भवती महिलासमेत रहेकी छन्।
छठ पर्व मनाउन काठमाडौंसहित विभिन्न स्थानबाट आफ्नो घर सर्लाही फर्किरहेका यात्रु दुर्घटनामा परेका थिए। दुर्घटनाले विशेषगरी सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर गाउँमा ठूलो बज्रपात निम्त्याएको छ।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा गुड्डु यादव (२६), उनकी श्रीमती गायत्री देवी यादव (२४), विकेश यादव (२५), सुधेश यादव (१६), पुनम यादव, अनु यादव (१०), शिक्षा यादव (७), दिपिका यादव (६), राकेश राय (४०), रोहन राय (१४), सुबोध राय (२५), रामदुलार राय (२५), रामप्रवेश राय (२५) र हाइस चालक रविशंकर मण्डल (३०) रहेका छन्।

यस दुर्घटनाको सबैभन्दा पीडादायी पक्ष एउटै परिवारका धेरै सदस्यले एकैसाथ ज्यान गुमाउनु हो। अबधेश यादवकी श्रीमती पुनम यादव आठ महिनाकी गर्भवती थिइन्। उनले आफ्ना तीन छोरी अनु, शिक्षा र दिपिकासहित ज्यान गुमाएकी छन्।
त्यस्तै, गुड्डु यादव र उनकी श्रीमती गायत्री देवी यादवको पनि दुर्घटनामा मृत्यु भएको छ। परिवारका सदस्यहरूको एकैपटक निधन भएपछि आफन्तजनमा गहिरो शोक छाएको छ।
चाडपर्वको अवसरमा परिवारसँग भेटघाट र खुसीयाली मनाउने सपना बोकेर हिँडेका उनीहरू दुर्घटनामा परेपछि सुन्दरपुर गाउँ अहिले शोकमग्न बनेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।