समाज

भाइटिका महोत्सवमा एक सय विदेशी पर्यटकलाई टीका लगाइने

नेपाली मौलिक संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै आएको होटल संघ पोखराको आयोजनामा पोखरामा बुधबार १९औँ संस्करणको भाइटिका महोत्सव आयोजना हुने भएको छ ।

तिहारको सांस्कृतिक महत्वलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने र संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले संघले महोत्सव आयोजना गर्न लागेको हो । पोखरा–६ लेकसाइडस्थित होटल पौवामा दिउँसोदेखि सुरु हुने उक्त महोत्सवमा करिब एक सय विदेशी पर्यटकलाई भाइटिकाको टीका लगाउने तयारी गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । उनका अनुसार नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षणसँगै तिनलाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको हो ।

‘नेपाली चाडपर्व र संस्कृतिप्रति विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । भाइटिका महोत्सवमा सहभागी हुन कतिपय पर्यटक वर्षेनि पोखरा आउने गरेका छन् भने केही पर्यटक दोहोर्‍याएर समेत टीका लगाउन आउने गरेका छन्’, अध्यक्ष सुवेदीले भने ।

विज्ञापन

महोत्सवमा सहभागी विदेशी पर्यटकलाई नेपाली समाजमा भाइटिकाको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे जानकारी गराइनेछ । दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाएर दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परालाई विदेशी पर्यटकमाझ प्रत्यक्ष अनुभव गराउने कार्यक्रमको मुख्य आकर्षण रहनेछ ।

त्यस अवसरमा पर्यटकलाई नेपाली परम्परागत परिकार सेलरोटीलगायतका परिकार खुवाइनुका साथै मौलिक देउसी–भैलोसमेत प्रस्तुत गरिनेछ । नेपाली संस्कृतिको जीवन्त अनुभव दिलाउँदै पर्यटकलाई स्थानीय चाडपर्व र परम्परासँग जोड्ने लक्ष्य महोत्सवले लिएको छ ।

होटल संघ पोखरा नेपालले विगतका वर्षदेखि निरन्तर आयोजना गर्दै आएको भाइटिका महोत्सवले पोखराको पर्यटनलाई सांस्कृतिक पहिचानसँग जोड्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । महोत्सवले पोखरा घुम्न आउने विदेशी पर्यटकलाई नेपाली संस्कृति बुझ्ने र त्यसमा प्रत्यक्ष सहभागी हुने अवसर प्रदान गर्ने अपेक्षा गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए । रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।