कार्तिक एक महिनामा भक्तपुरमा जबरजस्ती करणीका चार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। बहुविवाहको एउटा गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित पाँच वटा मुद्दा दर्ता यो एक महिनामा दर्ता भएको भक्तपुर प्रहरीले जनाएको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी एवं सूचना अधिकारी दीपककुमार कार्कीका अनुसार कात्तिक महिनामा लागूऔषधसम्बन्धी ६ वटा मुद्दा दर्ता भएका छन्। यस क्रममा ११ जना पक्राउ परेका छन्।
उनीहरूबाट ४३.७७ ग्राम खैरो हेरोइन र ५२० ग्राम गाँजा बरामद गरिएको जनाएको छ। त्यस्तै, बैंकिङ कसुरका २१ र ठगीका चार गरी आर्थिक अपराधसम्बन्धी २५ वटा मुद्दा दर्ता भएका छन्।

भक्तपुर प्रहरीले एक महिनाको अवधिमा जुवा तास तथा लङ्गुर बुर्जा खेल्ने ७८ जनालाई पक्राउ गरेको जनाएको पनि छ। प्रहरीले बुधबार सार्वजनिक गरेको कात्तिक महिनाको प्रगति विवरणअनुसार जुवा तास र लङ्गुर बुर्जा खेल्ने व्यक्तिहरूबाट ११ लाख ६२ हजार ५५० रुपैयाँ बरामद गरिएको छ।
परिसरका अनुसार कात्तिक महिनामा जुवा तास खेल्ने ७१ जनालाई पक्राउ गरी २२ बुक ताससहित ८ लाख ७४ हजार ३९० रुपैयाँ बरामद गरिएको छ।
त्यस्तै, लङ्गुर बुर्जा खेल्ने सात जनालाई पक्राउ गरी १ लाख ६८ हजार ८८० रुपैयाँ बरामद गरिएको छ। यसैगरी, प्रहरीले पटका नियन्त्रणका क्रममा १ लाख १९ हजार २८० रुपैयाँ बराबरको सामग्री बरामद गरेको जनाएको छ।
प्रहरीको तथ्यांकअनुसार कात्तिक महिनामा भक्तपुरमा ३३ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी तीन जनाको मृत्यु र ३९ जना घाइते भएका छन्।
दुर्घटनाको प्रमुख कारण लापरबाहीपूर्वक सवारी चलाउनु (१३), सडकमा ध्यान नदिनु (१०) र तीव्र गति (६) रहेको प्रहरीले जनाएको छ।
यस अवधिमा प्रहरीले विभिन्न मुद्दाका १११ जना फरार प्रतिवादी पक्राउ गरेको छ भने फैसला कार्यान्वयनतर्फ ५१ जनालाई पक्राउ गरी ११ वर्ष आठ महिना कैद र ८ लाख ९४ हजार ९०२ रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार कात्तिक महिनामा १४३ वटा मुद्दा दर्ता भएको अघिल्लो महिनाको तुलनामा कात्तिकमा ६९ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ३७ वटा मुद्दा फर्छ्योट भएका छन्।
त्यस्तै, घरेलु हिंसासम्बन्धी दुई वटा उजुरी परेका दुवै मिलापत्र भएका छन्। हराएका २४ जनामध्ये २२ जना फेला परेका छन् भने दुई जना पुरुष अझै फेला पर्न बाँकी रहेको प्रहरीको विवरणमा उल्लेख छ।
प्रहरीले कात्तिक महिनामा समुदाय तथा विद्यालय केन्द्रित १०६ वटा कार्यक्रम सञ्चालन गरी ३ हजार ४६२ जनालाई सहभागी गराएको जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।