एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नेपालको ब्याटिङ सुरुवातमै धराशायी भएको छ। छैटौं ओभरमै नेपालले १५ रन जोड्दा ४ प्रमुख विकेट गुमाइसकेको छ।
पाकिस्तान ‘ए’ का बलर मोहम्मद हसनैनले छैटौं ओभरमा लगातार दुई बलमा विकेट लिँदै नेपाललाई संकटमा पारेका हुन्। उनले ५.२ ओभरमा इशान पाण्डेलाई विकेटकिपर रोहेल नजीरको हातबाट क्याच आउट गराए भने लगत्तै अर्को बलमा लोकेश बमलाई हैदर अलीको हातबाट क्याच गराए।
पाण्डे ५ बल तथा बम १ बल खेल्दै खाता नखोली पेभेलियन फर्किए। यसअघि तेस्रो ओभरमा पाकिस्तान ‘ए’ का अर्का बलर मोहम्मद इमरानले नेपालका सुरुवाती २ विकेट झारेका थिए।

उनले ओपनर कुशल भुर्तेललाई १ रन र देव खनाललाई ८ रनमा आउट गरेका थिए।
ताजा अवस्थामा नेपालले ५.३ ओभरमा ४ विकेट गुमाएर १५ रन बनाएको छ। क्रिजमा ओपनर मायन यादव १५ बलमा १ चौकासहित ५ रन बनाएर टिकिरहेका छन्।
पाकिस्तान ‘ए’ का लागि मोहम्मद हसनैनले २.३ ओभरमा मात्र ३ रन खर्चेर २ विकेट तथा मोहम्मद इमरानले ३ ओभरमा १ मेडनसहित १२ रन दिएर २ विकेट लिएका छन्।
यसअघि कतारको दोहामा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट भएको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।