अन्तर्राष्ट्रिय

जेन्सेन प्रकरण : एलिसका पतिले चीनमा ९ अर्ब डलरको डाटा सेन्टर साम्राज्य खडा गरे !

एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँग नाम जोडिएकी चिनियाँ व्यवसायी एलिस हुआङबारे नयाँ खुलासा भएको छ।

उनका पति काङ वेईले चीन सरकारसँग सम्बन्धित लगानीकर्ताको समर्थनमा ९ अर्ब डलरभन्दा बढीका डाटा सेन्टर परियोजना अघि बढाएको खुलासा भएको हो।

द वाल स्ट्रिट जर्नलले चिनियाँ सरकारी अभिलेख र कम्पनीका विवरण अध्ययन गरी सार्वजनिक गरेको अनुसन्धानअनुसार काङले सन् २०२१ देखि २०२४ सम्म चीनमा ९ अर्ब डलरभन्दा बढीका डाटा सेन्टर निर्माण परियोजना सञ्चालन गरेका थिए। उनको व्यवसाय चीनको कृत्रिम बुद्धिमत्ता (एआई) विकास गर्ने योजनासँग जोडिएको देखिएको छ।

विज्ञापन

काङ पहिले भिडियो गेम उद्योगमा आबद्ध थिए। सोही क्रममा उनको एनभिडियाका संस्थापक जेन्सेन हुआङसँग चिनजान भएको थियो। उनले नै आफ्नी पत्नी एलिसलाई जेन्सेनसँग परिचय गराएको बताइएको छ। काङले पत्नी र जेन्सेनबिचको कथित सम्बन्धबारे जानकारी हुँदाहुँदै पनि त्यसलाई स्वीकार गरेको दाबी गरिएको छ।

काङले सन् २०२१ को अन्त्यतिर सांघाईमा मुख्यालय रहेको सेन्चुरी लङटेङ कम्पनीमार्फत डाटा सेन्टर व्यवसाय विस्तार सुरु गरेका थिए। उक्त कम्पनीमा चिनियाँ गेमिङ कम्पनी सेन्चुरी हुआटोङको ६३ प्रतिशत, काङसँग सम्बन्धित हेक्सी क्यापिटलको २७ प्रतिशत र सांघाई सरकारअन्तर्गतको निकायको १० प्रतिशत स्वामित्व थियो।

सन् २०२२ को सुरुवातमा सेन्चुरी लङटेङले अमेरिकी प्रतिबन्धमा रहेको चिनियाँ प्रविधि कम्पनी हुवावेसँग क्लाउड डाटा सेन्टर र कम्प्युटिङ पूर्वाधार निर्माण गर्ने सम्झौता गरेको थियो। त्यसपछि कम्पनीले चीन सरकारको ‘पूर्वी डाटा, पश्चिमी कम्प्युटिङ’ योजनाअन्तर्गत पनि काम अघि बढाएको थियो। यस योजनाको उद्देश्य पूर्वी चीनमा उत्पादन हुने डाटालाई पश्चिमी क्षेत्रमा प्रशोधन गर्नु हो।

सन् २०२२ को गर्मीयाममा काङले आन्हुई प्रान्तको वुहुमा करिब चार अर्ब ५० करोड डलरको डाटा सेन्टर परियोजना अघि बढाएका थिए। करिब ७० फुटबल मैदान बराबरको क्षेत्रफलमा बन्ने उक्त परियोजनामा २४ हजार सर्भर र्‍याक राख्ने योजना थियो। यसको पहिलो भवन सन् २०२६ को अप्रिलमा सम्पन्न भएको बताइएको छ।

त्यस्तै, सन् २०२४ को जुलाईमा उनले सिचुआन प्रान्तको लियाङशानमा करिब पाँच अर्ब डलरको अर्को डाटा सेन्टर परियोजनाको शिलान्यास कार्यक्रममा सहभागिता जनाएका थिए। चीनको प्रमुख प्रविधि केन्द्र शेन्जेनमा पनि उनले यस्तै परियोजना अघि बढाएको जनाइएको छ।

काङले चीनमा डाटा सेन्टर व्यवसाय विस्तार गरिरहेका बेला उनकी पत्नी एलिसले सिंगापुरमा रहेको मेगास्पीड कम्पनीमार्फत एनभिडियाको चिप आपूर्ति सञ्जालसँग सम्बन्ध बनाएको आरोप छ।

मेगास्पीडले सन् २०२३ को नोभेम्बरमा एनभिडियाको क्लाउड पार्टनरको मान्यता पाएको थियो। चिनियाँ ई-कमर्स कम्पनी अलिबाबा यसको प्रमुख ग्राहक बनेको थियो। त्यसपछि कम्पनीले एनभिडियाका चिपमा प्राथमिकताका साथ पहुँच पाएको र तीमध्ये केही चिप चीन पठाइएको आरोप छ।

सन् २०२४ को अन्त्यदेखि २०२५ को जुनसम्म काङ र एलिसले सांघाई तथा दक्षिणपूर्वी एसियामा डाटा सेन्टर परियोजनाका लागि लगानी खोजेको बताइएको छ। उनीहरूले सम्भावित लगानीकर्तालाई चीनमा एनभिडियाका चिप पुर्‍याउने बाटो रहेको बताएका थिए। साथै, तीन वर्षभित्र लगानी तीन गुणा बढाउने योजना पनि प्रस्तुत गरेका थिए।

यसअघि अमेरिकी प्रविधि सञ्चारमाध्यम द इन्फर्मेसनले एलिसमार्फत कम्तीमा सात अर्ब ५० करोड डलर बराबरका एनभिडिया प्रोसेसर चीन पुगेको दाबी गरेको थियो। उनले जेन्सेनसँगको व्यक्तिगत सम्बन्ध प्रयोग गरेर चिप आपूर्तिमा पहुँच बनाएको आरोपसमेत लागेको छ।

यद्यपि, एलिसले चिनियाँ अधिकारीको निर्देशनमा एनभिडियाका चिप प्राप्त गरेको वा ती चिप काङका डाटा सेन्टर परियोजनामा प्रयोग भएको पुष्टि भने भएको छैन।

अमेरिका र सिंगापुरका अधिकारीहरूले चिप निर्यातसम्बन्धी नियम उल्लङ्घन भएको आशंकामा मेगास्पीडमाथि अनुसन्धान गरिरहेका छन्। कम्पनीले भने आफ्नो कारोबार कानुनअनुसार भएको दाबी गरेको छ। एलिस अहिले कम्पनीको कुनै पनि पदमा नरहेको पनि कम्पनीले जनाएको छ।

यसबारे काङ र एलिससँग यस विषयमा प्रतिक्रिया मागिए पनि उनीहरूले कुनै जवाफ दिएका छैनन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।