विश्वका चर्चित प्रविधि, बैंकिङ तथा सञ्चार कम्पनीका वेबसाइट साइबर आक्रमणको निशानामा परेका छन्।
जुम, आइकिया, सीएनएन, एचएसबीसी, इक्विफ्याक्स र सेल्सफोर्सजस्ता चर्चित संस्थाका वेबसाइटमा मालिसियस जाभास्क्रिप्ट कोड राखेर प्रयोगकर्ताको क्रिप्टोकरेन्सी तथा व्यक्तिगत विवरण चोरी गर्ने प्रयास भएको साइबर सुरक्षा अनुसन्धानकर्ताले बताएका छन्।
रोयटर्सका अनुसार साइबर सुरक्षा अनुसन्धानकर्ता स्कट हेल्मेले १७८ संस्थाका वेबसाइटमा यस्तो दुर्भावनापूर्ण कोड प्रयोग भएको जानकारी दिएका छन्।

वेबसाइट अनुकूलन तथा परीक्षणका लागि प्रयोग हुने प्लेटफर्म अप्टिमाइजलीमार्फत ती वेबसाइटमा मालवेयरयुक्त जाभास्क्रिप्ट कोड प्रवेश गराइएको पाइएको हो।
अप्टिमाइजलीले पनि आफ्नो प्रणालीमा सुरक्षा कमजोरीको फाइदा उठाएर अनधिकृत पक्षले केही ग्राहकका परियोजनामा दुर्भावनापूर्ण कोड राखेको पुष्टि गरेको छ।
अनुसन्धानकर्ता हेल्मेका अनुसार उक्त कोडले प्रयोगकर्ताले क्रिप्टोकरेन्सी भुक्तानी गर्दा वास्तविक प्राप्तकर्ताको वालेट ठेगानालाई आक्रमणकारीको वालेट ठेगानाले प्रतिस्थापन गर्ने प्रयास गरेको थियो।
त्यस्तै, भुक्तानी कार्डको विवरण संकलन गर्ने, ब्राउजरका कुकी चोरी गर्ने, प्रयोगकर्ताको स्क्रिनसट लिने र एप्पलका आईओएस उपकरणलाई लक्षित गरी आक्रमण गर्ने कोडसमेत प्रयोग गरिएको थियो।
अप्टिमाइजलीले सुरक्षा कमजोरी समाधान गरिसकेको, प्रभावित परियोजनाबाट दुर्भावनापूर्ण कोड हटाएको र प्रभावित प्रयोगकर्ताका खाता सुरक्षित बनाउन आवश्यक कदम चालेको जनाएको छ।
सेल्सफोर्स, आइकिया र इक्विफ्याक्सले घटनाबारे अनुसन्धान गरिरहेको बताएका छन्। सेल्सफोर्सले अप्टिमाइजलीका स्क्रिप्ट निष्क्रिय पारेको जनाएको छ।
इक्विफ्याक्सले समस्याग्रस्त प्रणालीको प्रयोग बन्द गरेको र आफ्ना प्रणालीमा कुनै क्षति पुगेको प्रमाण नभेटिएको बताएको छ।
एचएसबीसीले भने आफ्ना वेबसाइटमा अनधिकृत स्क्रिप्ट सक्रिय नरहेको जनाएको छ। एप्पल, जुम र सीएनएनले यसबारे रोयटर्सको टिप्पणी मागमा प्रतिक्रिया दिएका छैनन्।
यसैबीच, पछिल्लो समय विश्वभर साइबर आक्रमण र प्रविधि प्रणालीमा समस्या देखिने क्रम बढेको छ। ब्लकचेन अनुसन्धान संस्था चेनालाइसिसका अनुसार सन् २०२१ यता क्रिप्टोकरेन्सीसम्बन्धी ह्याकिङबाट २२ अर्ब ३० करोड डलरभन्दा बढी रकम चोरी भइसकेको छ।
गत महिना विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्ससँग सम्बन्धित साइबर आक्रमणमा ६ अर्ब ३० करोड डलर चोरी भएको रोयटर्सले जनाएको छ।
नोभेम्बर महिनामा माइक्रोसफ्टका विभिन्न सेवामा अवरोध, अमेरिकी संघीय उड्डयन प्रशासनको उडान रोक्ने निर्णय र युनाइटेड एयरलाइन्सको प्रणालीमा समस्या देखिएको थियो।
त्यस्तै, जेपी मोर्गन, चेज, यूएस बैंक र वेल्स फार्गोजस्ता ठूला बैंकका केही ग्राहकले पनि अनलाइन खातामा पहुँच पाउन समस्या भोगेका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।