काठमाडौंको नागार्जुन नगरपालिका-४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिक खाली जग्गामा पार्किङ गरेर राखिएको बा १ ज ९८०५ नम्बरको माइक्रो चोरी भएको छ। चोरीमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक २९ गते साँझ करिब ७:४५ बजे माइक्रो हराएको सूचना पाएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजी सुरु गरेको थियो।
प्रहरीले खोजतलास गर्ने क्रममा मंसिर २ गते कलंकीमा चोरी भएको माइक्रो फेला पारेको थियो। त्यसैगरी, मंसिर ५ गते बिहान १०:३० बजे स्वयम्भूस्थित बुद्ध पार्कबाट चोरीमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका-६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा रहेका छन्।
पक्राउ परेका दुवै जनाविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।