कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ताको ८३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगबाट पीडित गुप्ताको कपिलवस्तु नगरपालिका–२ जमुहावारस्थित आफ्नै निवासमा बिहान ६ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
विसं २००० मा जन्मिएका गुप्ता २०३० सालअघि देखि नै राजनीतिमा सक्रिय थिए। उनले २०२७ सालमा वर्गदवा गाउँ पञ्चायतको प्रधानपञ्चको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि तौलिहवा आदर्श गाउँ पञ्चायतको दुईपटक प्रधानपञ्च बनेका थिए।
२०३९ सालमा तौलिहवा नगरपालिका स्थापना भएपछि उनी नगर प्रमुखमा निर्वाचित भएका थिए। त्यसैगरी, २०४८ र २०५४ सालमा पनि कपिलवस्तु नगरपालिकाको मेयर बनेका थिए। २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत मेयर पदका उम्मेदवार बनेका उनी पराजित भएका थिए।

पञ्चायतकालमा सार्वजनिक सेवामा योगदान पुर्याएबापत गुप्ताले गोरखा दक्षिणबाहु तृतीय पदकसमेत प्राप्त गरेका थिए। उनी कपिलवस्तुका चर्चित नेता भगवानदास गुप्ताका भाइ तथा पूर्वसांसद बृजेशकुमार गुप्ताका काका हुन्।
गुप्ताका श्रीमती, दुई छोरा र दुई छोरी छन्। उनको पार्थिव शरीरको शुक्रबार बिहान १० बजे रामघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।