इलामसहित नेपाली अर्थाेडक्स चियालाई विश्वबजारमा चिनाउने प्रयासस्वरूप चियाको ‘राजधानी’ मानिने कन्याममा प्रथम सूर्याेदय चिया महोत्सव आयोजना गरिने भएको छ। यही मंसिर ५ र ६ मा कन्यामस्थित चिया परीक्षण तथा प्रवर्धन केन्द्र परिसरमा महोत्सव आयोजना गर्न लागिएको हो।
महोत्सवमा सूर्याेदय नगरपालिकामा सञ्चालित ५ दर्जनभन्दा बढी उद्योगले उत्पादन गरेको अर्थाेडक्स चियाको स्वाद लिन पाउने व्यवस्था गरिएको छ।
स्थानीय दूध र कृषिउपजसमेत महोत्सवमा पाइनेछन्। देश-विदेशका चिया पारखी र सहभागी महोत्सवमा भेला हुने आशा आयोजक सूर्याेदय नगरपालिकाले गरेको छ।

पर्यटकीय अन्तुडाँडाबाट विभिन्न मनोरम दृश्यावलोकन गर्दै कन्याम चियाबारीसमेत घुम्न सकिने ‘चियाबारी पदमार्ग’ को प्रचारका लागिसमेत महोत्सव आयोजना गरिएको हो।
‘चिया, दूध र अन्य कृषि उत्पादनको गुणस्तर प्रचारप्रसार गर्दै पर्यटकलाई चियाबारीभित्र पनि पैदल हिँड्ने पदमार्ग छ भनेर चिनाउनु महोत्सवको मुख्य उद्देश्य हो,’ कार्यवाहक मेयर दुर्गाकुमार बरालले भने, ‘अन्तु, कन्याम, फिक्कलमात्र होइन, गाउँ-गाउँका आकर्षक पर्यटकीय क्षेत्रको प्रचार गर्न र आगन्तुकलाई ती ठाउँ चिनाउनसमेत महोत्सवले सघाउने छ।’ साढे २५ किलोमिटर चियाबारी पदमार्ग निर्माणको काम चालु वर्ष सम्पन्न हुनेक्रमममा छ।
महोत्सवको पहिलो दिन सांस्कृतिक झाँकी प्रदर्शन गरिने छ। उद्घाटनकै दिन चिया र पर्यटनसँग सम्बन्धित सम्भाषण राखिएको छ। चियाको स्वाद परीक्षण, रैथाने खानाका परिकार अवलोकन, विभिन्न ब्रान्डका चियाको सोकेसिङ, सूर्याेदयका पर्यटकीय क्षेत्रको जानकारीमूलक स्टल अवलोकन र चियाबारी पदमार्गबारे जानकारी गराइने छ
भोलिपल्ट चियाबारी पदमार्ग हाइकिङ राखिएको छ। चियाबारी पदमार्गको कन्याम-पाल्टाँगे-मानेडाँडा-देवीडाँडा-पद्मछ्योलिङ गुम्बा-पुरानो फिक्कल बजार हुँदै कन्यामसम्मको साढे १२ किलोमिटरमा पुरुषका लागि प्रतियोगितात्मक ‘टि-ट्रेल रेस’ समेत राखिएको छ।
यही रुटको ९ किमीमा महिलाका लागि ट्रेल रेस राखिएको नगरका आर्किटेक्ट इन्जिनियर श्रीजन गदालले जानकारी दिए। पुरुषतर्फ पहिलो हुनेले नगद ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउनेछन्। महिलातर्फ पहिलोले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगद पाउने उनले जनाए। दौड पूरा गर्ने सबै सहभागीलाई मेडल र प्रमाणपत्रसमेत दिइने छ।
यो चिया महोत्सव पर्यटकका लागिमात्रै नभई स्थानीयलाई श्रम, शारीरिक कसरत तथा खेलकुदमा आकर्षित गर्ने पनि प्रयास भएको कार्यवाहक मेयर बराल बताउँछन्।
‘किसान, श्रमिक, उद्योगी, व्यवसायी सबैलाई यो महोत्सवले प्रोत्साहित गर्ने आशा छ,’ उनले भने, ‘अन्तु घुम्न आउने ठूलो संख्याका छिमेकी देशका पर्यटकसमेत पदमार्गबाट कन्याम र इलाम जिल्लाभर आकर्षित गर्न पनि यसले टेवा पुग्नेछ।’
इलाम जिल्लामा झापा र भारततिरबाट पर्यटक भित्रिने मुख्य सडक नै सूर्याेदय नगरपालिकामा पर्छ। महोत्सवले सूर्याेदयलाई मात्र नभई सिंगो जिल्लाकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनले जनाए।
दोस्रो दिन पनि चियाको स्वाद परीक्षण, स्टल अवलोकनलाई निरन्तरता दिँदै ‘जलवायु परिवर्तनको सामनाः दिगो चिया खेती र चिया कृषकको जगेर्ना’ विषयमा सरोकारवालाबीच संवाद हुनेछ।
कार्यबाहक मेयर बरालले अर्थाेडक्स चियाको बजार नेपालमै विस्तार गर्न पनि महोत्सव सहयोगी बन्ने बताए। ‘नेपालको चिया अन्य देशमा निर्यात गर्न बेला–बेला विभिन्न झन्झट आउनेगरेका छन् तर यहाँको अर्थाेडक्स चियाको ठूलो बजार हाम्रै देश पनि बन्नसक्छ, त्यसमा पनि ध्यान जाओस् भन्ने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘चियाको आन्तरिक खपत बढाउन महोत्सवले सघाउनेछ।’
नगरले पशुमा देखिने खोरेत रोगमुक्त अभियानसमेत सञ्चालन गरिरहेकाले त्यसको प्रचारका लागि दूधबाट उत्पादित चिज, घिउ, पनिर, छुर्पीलगायत पनि महोत्सवमा स्टल राखिने जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।