दक्षिणी गाजाको खान युनिसस्थित नासेर अस्पतालमा बिहीबार बिहान भएको इजरायली हवाई आक्रमणमा एक चिकित्सकसहित छ जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन्।
गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमूद बसालका अनुसार इजरायली हवाई आक्रमण अस्पतालको शल्यक्रिया विभागमा भएको थियो, जसबाट भवनमा व्यापक क्षति पुगेको छ। मृतक चिकित्सकको पहिचान रेजिक अबुशिराका रूपमा गरिएको छ।
अस्पतालभित्रको भिडियोमा कोठाहरूमा भग्नावशेष र छरिएका फर्निचर देखिएका छन्। क्षतिग्रस्त छतबाट तारहरू झुन्डिएका छन् भने घाइते बिरामीहरूलाई स्ट्रेचरमा राखेर भग्नावशेषले भरिएका करिडोरबाट बाहिर निकालिएको देखिन्छ। उद्धारकर्मीहरूले घटनास्थलबाट शवसमेत बाहिर निकालेका थिए।

आक्रमणबारे इजरायली सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। हमासका प्रवक्ताले घटनालाई ‘पूर्ण रूपमा विकसित युद्ध अपराध’ भन्दै निन्दा गरेका छन्।
गाजामा आक्रमण तीव्र बनाउँदै आएको इजरायलले हमासले आफ्नो सैन्य क्षमता पुनःनिर्माण तथा हतियार पुनःसंगठन गर्न खोजिरहेको आरोप लगाएको छ।
तर हमासले एक वर्षअघि भएको युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको दाबी गर्दै इजरायलले सम्झौता कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाएको छ।
क्षेत्रका स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धविराम सम्झौतामा सहमति भएयता गाजामा इजरायली आक्रमणमा कम्तीमा १,६०० प्यालेस्टिनीको मृत्यु भएको छ। इजरायलले भने उक्त अवधिमा आफ्ना चार सैनिक मारिएको जनाएको छ।
गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार सन् २०२३ अक्टोबरमा इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेयता ७४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
हमास नेतृत्वका लडाकुहरूले दक्षिणी इजरायलमा आक्रमण गरी करिब १,२०० जनाको ज्यान लिएपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो। रोयटर्स


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।