मंसिर महिनाका लागि ६ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। १४ वटा बैंकले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
कुनै पनि बैंकले ब्याजदर वृद्धि नगरेपछि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ४ प्रतिशतभन्दा तल झरेको छ। २० वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर कात्तिकको ४.०१३ प्रतिशतबाट ०.११ प्रतिशत विन्दुले घटेर मंसिरमा ३.९२ प्रतिशत कायम भएको छ। त्यस्तै संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि ३.००३ प्रतिशतबाट घटेर २.९९०५ प्रतिशतमा झरेको छ।
ब्याजदर घटाउनेमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा धेरै १ प्रतिशत विन्दुले कटौती गरेको छ। यो बैंकले कात्तिकमा ४.५ प्रतिशत रहेको ब्याजदर घटाएर ३.५ प्रतिशत कायम गरेको हो। कृषि विकास बैंकले ब्याजदर ०.५ प्रतिशत विन्दुले घटाएर ३.६५ प्रतिशतमा झारेको छ।

एनएमबि बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपमा ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। लक्ष्मी सनराइज, कुमारी र स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदरमा कटौती गरेका छन्।
बैंकहरूबिच ब्याजदर घटाउने क्रम जारी रहँदा निक्षेपकर्ताले मुद्दती निक्षेपबाट पाउने प्रतिफल थप घट्ने देखिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।