इतिहासमा पहिलोपटक विश्वको औसत तापक्रम वृद्धि लगातर ६ दिन दुई डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। तापक्रम वृद्धिको इतिहासमा यो पहिलो घटना हो।
जलवायु परिवर्तनका विषयमा वैज्ञानिक चेतावनी तीव्र भइरहेका बेला र यही साता अन्तल्यामा सम्पन्न कोप–३१ जलवायु सम्मेलन ठोस निर्णयबिना टुंगिएको केही दिनमै तापक्रमले नयाँ रेकर्ड कायम गरेको हो।
बेलायती दैनिक पत्रिका ‘द गार्डियन’का अनुसार लगातार ६ दिनमध्ये नोभेम्बर २३ मा त विश्वको दैनिक औसत सतही तापक्रम औद्योगिक क्रान्तिपूर्व सन् १८५०–१९०० को औसतभन्दा २.२४ डिग्री सेल्सियसमाथि पुगेको छ। यो वृद्धि सन् २०२३ मा कायम २.०५ डिग्री सेल्सियसको पुरानो रेकर्डभन्दा निकै बढी हो।

तापक्रम वृद्धिको यो उच्च अवस्था अझै केही दिन कायम रहने अनुमान गरिएको छ।
वैज्ञानिकहरूले लगातार ६ दिन तापक्रम दुई डिग्रीभन्दामाथि रहनुलाई पृथ्वी तीव्र गतिमा तातिरहेको संकेतका रूपमा लिएका छन्। केही दिनको तापक्रम वृद्धिलाई आधार बनाएर पेरिस जलवायु सम्झौताले निर्धारण गरेको दुई डिग्रीको सीमा उल्लंघन भएको भन्न भने मिल्दैन। उक्त सीमा दीर्घकालीन विश्वव्यापी तापक्रम औसतसँग सम्बन्धित छ, दैनिक तापक्रमसँग होइन।
अहिलेको तापक्रम वृद्धि मानवीय गतिविधिबाट भइरहेको दीर्घकालीन जलवायु परिवर्तन र शक्तिशाली एल निनोको संयुक्त प्रभावका कारण भएको वैज्ञानिक भनाइ छ।
कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धन जलाउँदा उत्सर्जन हुने हरितगृह ग्यासले वायुमण्डलमा ताप थुनेर पृथ्वीलाई तातो बनाउँदै आएको छ। अहिले विकसित भइरहेको एल निनोले पनि विश्वव्यापी तापक्रमलाई बढाएको छ।
अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) को नोभेम्बर १२ को प्रक्षेपणअनुसार एल निनो आगामी जनवरीदेखि मार्चसम्म शक्तिशालीदेखि निकै शक्तिशाली अवस्थामा पुग्ने सम्भावना छ। वैज्ञानिकहरूका अनुसार एल निनो जनवरीसम्म उत्कर्षमा पुग्न सक्छ। यसको पूर्ण प्रभाव भने त्यसपछिका महिनामा देखिनेछ।
तापक्रम वृद्धिले प्राकृतिक प्रणालीमा समेत थप असर पर्न थालेको छ। इन्डोनेसिया र अमेजन क्षेत्रका उष्णकटिबन्धीय वनमा खडेरी तथा डढेलो बढ्दा वनस्पतिको कार्बन सोस्ने क्षमता कमजोर हुँदै गएको छ। यसले वायुमण्डलमा कार्बन डाइअक्साइड थपिने प्रक्रियालाई तीव्र बनाउन सक्ने वैज्ञानिक चेतावनी छ।
बेलायतको मौसम कार्यालयका वैज्ञानिकहरूले आगामी वर्ष वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा उल्लेख्य रूपमा बढ्ने अनुमान गरेका छन्।
अत्यधिक तापक्रमले विश्वभर मौसमजन्य विपद् चरम र घातक बनाउँदै लगेको छ। यस वर्ष युरोपेली संघअन्तर्गतका देशमा गर्मीका कारण ५० हजारभन्दा बढी र बेलायतमा पाँच हजार मानिसको मृत्यु भएको गार्डियनको रिपोर्टमा उल्लेख छ। खडेरी, वन डढेलो, खाद्यान्न तथा पानी अभाव र अत्यधिक गर्मीबाट स्वास्थ्यमा पर्ने असर आगामी दिनमा अझ गम्भीर हुन सक्ने वैज्ञानिकहरूको चेतावनी छ।
पछिल्लो तापक्रम रेकर्ड यसै साता अन्तल्यामा सम्पन्न कोप– ३१ जलवायु सम्मेलनको परिणामसँग पनि जोडिएको छ। जीवाश्म इन्धनबाट बाहिरिने विषय र जलवायु वित्तमा ठोस साझा सहमतिबिना सम्मेलन टुंगिएको थियो। वैज्ञानिक चेतावनी र सरकारहरूको निर्णयबिच बढ्दो अन्तरले जलवायु संकट सामना गर्ने विश्वव्यापी प्रयास कमजोर बन्दा चिन्ता थपिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।