समाज

‘माई बडी, माई राइट’ कहिलेदेखि ?

संसारका मानिस स्वतन्त्र भनिए पनि महिलाले ‘माई बडी, माई राइट’ (मेरो शरीर, मेरो अधिकार) कहिलेदेखि पाउने भन्ने प्रश्न एक कार्यक्रमका सहभागीले उठाएका छन् । अहिले पनि विवाहित महिलाले पुरुष तयार भएपछि यौनसम्पर्कका लागि तयार हुनुपर्ने बाध्यता रहेको बैठकमा सहभागी महिलाहरूको भनाइ थियो ।

‘विवाह गरेपछि श्रीमान्सँग सुत्नु परेन त ?’ भनेर नेपाली समाजले अझै पनि महिलालाई प्रश्न गर्ने गरेको उनीहरूले बताए । महिला जागरण तथा विकास केन्द्र काठमाडौंले बिहीबार भक्तपुरमा आयोजना गरेको १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानको दोस्रो दिन सरोकारवालासँग भएको समूह सञ्जाल बैठकमा यस विषयमा चर्चा गरिएको हो ।

बैठकमा आयोजक संस्थाकी सल्लाहकार डा. अनिता श्रेष्ठले अहिले पनि विवाहित महिला श्रीमान्को यौन चाहना पूरा गर्नकै लागि हुन् भन्ने मिथक समाजमा कायम रहेको बताइन् । महिलालाई घरको कामका लागि ल्याइएको कामदारजस्तै व्यवहार गर्ने प्रवृत्ति अझै रहेको उनको भनाइ थियो ।

विज्ञापन

‘महिलामाथि जन्मेदेखि नै मानवीय व्यवहार हुन सकेको छैन । श्रीमानले दुई थप्पड हाने पनि महिलाले सहनुपर्छ भन्ने गलत मान्यता अहिले पनि नेपाली समाजमा कायम छ,’ उनले भनिन् ।

कार्यक्रममा सहभागीहरूले महिलामाथि हुने हिंसा नियन्त्रणका लागि नेपालमा पर्याप्त कानुनी व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । कानुन निर्माण गरेर मात्रै महिलामाथिको हिंसा अन्त्य नहुने भन्दै उनीहरूले दण्डहीनताको अन्त्य र पीडितलाई न्यायको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए । महिलामाथि हुने हिंसा रोकथामका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा महिलामाथि हुने हिंसा तथा बालबालिकाविरुद्धका हिंसा रोक्न विद्यमान कानुनी प्रावधान, न्यायमा पहुँच र त्यसको कार्यान्वयनको अवस्थाबारे छलफल गरिएको थियो ।

आयोजक संस्थाकी संस्थापक अध्यक्ष तथा रणनीतिक सल्लाहकार वरिष्ठ अधिवक्ता प्रा.डा. शशी अधिकारीले महिलामाथि हुने हिंसा रोकथाम तथा न्यायमा पहुँचसम्बन्धी कानुनी व्यवस्थाबारे सहजीकरण गरेकी थिइन् । कार्यक्रममा पीडित केन्द्रित दृष्टिकोण, लैङ्गिक हिंसासम्बन्धी सेवा प्राप्तिमा देखिएका चुनौती, सरोकारवालाको भूमिका तथा लैङ्गिक हिंसापीडितका लागि उपलब्ध सेवा र प्रेषण प्रणाली (रेफरल मेकानिजम) का विषयमा पनि प्रस्तुति दिइएको थियो ।

सहभागीहरूले हिंसापीडितले न्याय प्राप्तिका क्रममा भोग्नुपर्ने समस्या, उपलब्ध सेवामा पहुँचका चुनौती तथा सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए । हिंसापीडितको सुरक्षा, गोपनीयता र न्यायमा सहज पहुँच सुनिश्चित गर्न सरकारी निकाय, सामाजिक संस्था तथा सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

बैठकमा सरकारी वकिल कार्यालय भक्तपुर, सूर्यविनायक नगरपालिकाको सामाजिक विकास शाखा, सूर्यविनायक नगर बाल सञ्जाल, जगाती महिला सेल, सुवर्णेश्वर विद्यालय, भक्तपुरमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मी सहभागी थिए ।

कार्यक्रममा आयोजक संस्था महिला जागरण तथा विकास मञ्चले सूर्यविनायक नगरपालिका–६ मा महिला समूह गठन गरी महिलाहरूका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराएको थियो । आयआर्जनका कार्यक्रममार्फत महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै उद्यमीका रूपमा विकास गर्न सहयोग गर्दै आएको संस्थाले जनाएको छ ।

महिलाको आर्थिक सशक्तीकरणसँगै लैङ्गिक हिंसाको अन्त्यका लागि ऐक्यबद्धता जनाउने, दण्डहीनताको अन्त्य गर्ने र पीडितलाई न्याय सुनिश्चित गर्ने उद्देश्यले संस्थाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको पनि जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।