भक्तपुरको सूर्यविनायक नगरपालिका–६ का महिलाहरूले आफैँले कमाउन थालेपछि घरझगडामा कमी आएको अनुभव सुनाएका छन्। उनीहरूका अनुसार आफ्नै आम्दानी हुन थालेपछि परिवारको खर्चमा योगदान पुर्याउन र बचत गर्ने क्षमता विकास गर्न सहयोग पुगेको छ। यसले श्रीमान्–श्रीमतीबीचको घरायसी विवादसमेत कम गर्न मद्दत गरेको उनीहरूको भनाइ छ।
सूर्यविनायक नगरपालिका–६ मा सीमान्तकृत महिला तथा बालबालिकाको सशक्तीकरण, आर्थिक आत्मनिर्भरता र न्यायमा पहुँच अभिवृद्धिका लागि महिला जागरण तथा विकास केन्द्रले सहयोग गरेपछि महिलाहरूले विभिन्न काम गरेर आम्दानी गर्न थालेका हुन्। परियोजनाको सहयोगपछि साना तथा ठूला व्यवसाय सुरु गरी आम्दानी गर्न सफल भएको उनीहरूले बताएका छन्।
महिलाको आर्थिक अवस्था सुधार गर्न धूपबत्ती उत्पादन, कपडा ब्रान्डिङ तथा क्याटरिङ सेवाजस्ता व्यवसायमा सहयोग गरिएको परियोजनाकी संस्थापक अध्यक्ष शशी अधिकारीले बताइन्। सूर्यविनायक नगरपालिका–६ मा यी गतिविधिका लागि विभिन्न शीर्षकमा कुल चार लाख ६९ हजार ९७४ रुपैयाँ खर्च गरिएको उनले शुक्रबार आयोजित कार्यक्रममा जानकारी दिइन्।

आयोजक संस्थाले कार्यक्रममा सामाजिक लेखापरीक्षण प्रतिवेदनसमेत सार्वजनिक गरेको थियो। प्रतिवेदनअनुसार परियोजनाले महिलालाई आर्थिक गतिविधिमा सहभागी गराउनुका साथै आफ्ना अधिकारबारे जानकारी प्राप्त गर्न, सरकारी निकायसँग संवाद गर्न तथा परिवार र समुदायको निर्णय प्रक्रियामा भूमिका स्थापित गर्न सहयोग पुर्याएको छ।
परियोजनाअन्तर्गत सूर्यविनायक नगरपालिकामा सशक्तीकरण, न्यायमा पहुँच तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रमको लक्ष्य ३१८ जना रहेकोमा ३४८ जनाले सहभागिता जनाएका छन्। विधिको शासन, सुशासन तथा नीतिगत पैरवीतर्फ १२० जनाको लक्ष्य राखिएकोमा १३७ जनासम्म कार्यक्रमको पहुँच पुगेको छ। त्यसैगरी, आर्थिक सशक्तीकरण तथा शैक्षिक सहयोगतर्फ २५० जनाको लक्ष्य रहेकामा १९३ जनाले प्रत्यक्ष सहयोग प्राप्त गरेका छन्। परियोजनाअन्तर्गत १५ वटा व्यवसायलाई सहयोग गरिएको छ भने ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराइएको छ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना (भट्टराई) ले महिला सशक्तीकरण, आर्थिक गतिविधि र नगरपालिकासँगको सहकार्यमा संस्थाले महत्त्वपूर्ण योगदान गरेको बताइन्। महिलाको वित्तीय ज्ञान, बचत, संस्थागत व्यवस्थापन र व्यवसाय सञ्चालन क्षमता थप सुदृढ गर्न आवश्यक रहेको उनले औँल्याइन्।
सूर्यविनायक नगरपालिका–६ का वडाध्यक्ष ईश्वर खड्काले सीमान्तकृत महिला तथा बालबालिकासम्म पुगेर गरिएको प्रयास प्रशंसनीय रहेको बताए। लैङ्गिक हिंसा न्यूनीकरणका लागि पुरुषको सहभागिता बढाउनुपर्ने सुझाव पनि उनले दिए।
परियोजनाले आर्थिक सहयोगसँगै महिला तथा बालबालिकाको कानुनी सशक्तीकरण, लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको सेवा तथा न्यायमा पहुँच, व्यक्तिगत घटना दर्तासम्बन्धी सचेतना र विद्यालयमा अध्ययनरत जोखिममा रहेका बालबालिकालाई शैक्षिक सहयोग प्रदान गर्दै आएको जनाएको छ।
प्रतिवेदनअनुसार सीमान्तकृत महिला तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिका लागि सेवा पहुँच र सिफारिस प्रणाली सुदृढ गर्न स्थानीय तह, न्यायिक समिति, प्रहरी, विद्यालय तथा अन्य सरोकारवाला संस्थासँग समन्वय गरिएको छ। यसबाट महिलाको सामुदायिक सहभागिता र स्थानीय निर्णय प्रक्रियामा प्रतिनिधित्व बढाउन सहयोग पुगेको उल्लेख छ।
कार्यक्रममा सहभागी वडावासीले महिला समूहबाट उत्पादित वस्तु तथा सेवाको बजार सुनिश्चित गर्न स्थानीय तहको नेतृत्वमा दिगो बजार संयन्त्र विकास गर्नुपर्ने सुझाव दिएका छन्। सफल आयआर्जनका गतिविधि अन्य वडामा विस्तार गर्न, स्थानीय सरकारको लगानी तथा सहयोग बढाउन र लैङ्गिक हिंसा, बालविवाह, लागूऔषध दुरुपयोग तथा बाल संरक्षणसम्बन्धी सचेतना कार्यक्रमलाई निरन्तरता दिन पनि उनीहरूले सिफारिस गरेका छन्।
तीनवर्षे परियोजना सन् २०२४ जनवरी १ देखि २०२६ डिसेम्बर ३१ सम्म सञ्चालन हुने गरी तयार गरिएको हो। यसको कुल बजेट तीन करोड ३७ लाख पाँच हजार २९६ रुपैयाँ रहेको छ। परियोजना सूर्यविनायक नगरपालिका–६ का साथै कैलाली जिल्लाका धनगढी र गोदावरी नगरपालिकामा पनि सञ्चालन भइरहेको जनाइएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।