धनगढी उपमहानगरपालिकाले नगरभित्रको सामुदायिक विद्यालयलाई पठनपाठन र भौतिक सुविधाका दृष्टीकोणले गुणस्तरीय बनाउँदै लगिरहेको छ। आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थी समेत घर नजिकैको सामुदायिक विद्यालयमा पढाउन छोडेर निजी विद्यालयमा पढाउने गर्थे।
उपमहानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर विकास गर्ने अभियान थालेसँगै विद्यार्थीको आकर्षण बढेको छ। भने केही वर्ष अघिसम्म कक्षा ८, कक्षा १० मा निल नतिजा आउने विद्यालयको पठनपाठनको गुणस्तर पनि उकासिँदै गएको स्थानिय बताउँछन्।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन केही विद्यालयलाई नमुना विद्यालय घोषणा गरेर भौतिक पूर्वाधार तथा शैक्षिक रूपमा सुधार गर्ने अभियान थालिएको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताएका छन्।

धनगढी उपमहानगरपालिकाले सोमवार दुईवटा नमुना सामुदायिक विद्यालयमा नयाँ भवन निर्माण गर्नुका साथै विद्यार्थी बस्नका लागि डेस्क र बेञ्च हस्तान्तरण गरेको छ।
विद्यार्थीको पठनपाठन प्रभावकारी र गुणस्तर बनाउनका लागी भवन निर्माणसँगै डेस्क, बेञ्च दिइएको उनले बताए।
नगर प्रमुख गोपाल हमालको उपस्थितिमा उपप्रमुख कन्दकलाकुमारी रानाले सम्बन्धित विद्यालयलाई फर्निचन र समान हस्तान्तरण गरेकी हुन्। धनगढी उपमहानगरको वडा नम्बर १६ मा रहेको बेहडाबाबा माविलाई ५० थान र वडा नम्बर १८ मा रहेको चन्द्रोदय माविलाई ३८ थान डेस्क बेञ्च सोमबार हस्तान्तरण गरिएको उपप्रमुख रानाले बताइन्।
उपमहानगरले छनोट गरेका यि दुई वटै विद्यालय नमुना सामुदायिक विद्यालय रहेको उनको भनाइ छ। बेहडाबाबामा ३लाख ७७ हजार र चन्द्रोदयमा २ लाख ४८ हजार मूल्यका फर्निचर दिइएको उपप्रमुख रानाले बताइन्। ‘सामुदायिक विद्यालयको पठनपाठनको गुणस्तर बढाएर विद्यार्थीलाई सामुदायिक विद्यालयमै राम्रो शिक्षा उपलब्ध गराउन नमुना विद्यालय बनाएर भौतिक सुविधा तथा पठनपाठनको गुणस्तर बढाइएको छ,’ उनले भनिन्।
फर्निचरण हस्तान्तरण कार्यक्रमले विद्यार्थीको बसाइँ व्यवस्थापन र शैक्षिक सुधारका गतिविधिमा सहयोग पुग्ने विश्वास गरिएको उनको भनाइ छ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उपमहानगरले शिक्षकलाई तालिम, भौतिक पूर्वाधार निर्माण र शैक्षिक सामग्री सहयोग गर्दै आएको उनले बताइन्। सामुदायिक विद्यालय सुधार अभियानअन्तर्गत केही विद्यालयलाई नमुना विद्यालयको रूपमा अगाडि बढाइएको उनको भनाइ छ।
उपमहानगरले चन्द्रोदय र बेहडाबाबा माविमा ८/८ कोठे भवन निर्माण गरेको छ। भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको नगर प्रमुख हमालले बताएका छन्। चन्द्रोदय माविमा १ करोड ४० लाख १२ हजार रुपैयाँ र बेहडाबाबा माविमा १ करोड ३२ लाख ७७ हजार रुपैयाँको लागतमा भूकम्प प्रतिरोधी सुविधा सम्पन्न भवन निर्माण गरिएको छ। ‘दुवै भवन भूकम्पप्रतिरोधी र अपाङ्गतामैत्री रहेका छन,’ उनले भने।
आधुनिक पूर्वाधारयुक्त र गुणस्तरिय पठनपाठनको सुनिश्चितता गरेर सामुदायिक विद्यालयहरूको विकास गर्दै लैजाने उद्येश्य रहेको उनको भनाइ छ। गरिव परिवारले समेत कर्जा सापट गरेर महंगो शुल्क तिरेर निजी विद्यालय पढाउने र सामुदायिक विद्यालय प्रति विश्वास नगर्ने अवस्थाको अन्त्य गर्न नमुना विद्यायल घोषणा गरेर सुधारको अभियान थालिएको उनी बताउँछन्।
‘सामुदायिक विद्यालयहरूको शैक्षिक सुधारका लागि पूर्वाधार निर्माण, शैक्षिक सामग्री सहयोगका साथै शिक्षकहरूलाई तालिमहरू दिएर गुणस्तर विकास गर्ने अभियान थालिएको हो,’ उनले भने।
आधुनिक भवन निर्माण र भौतिक समानको उपलब्धताले विद्यार्थीको पठनपाठनको व्यवस्थापनमा सहयोग पुगेर पठनपाठनको गुणस्तरमा सुधार हुँदै गएको शिक्षकले बताएका छन।
केही वर्षअघिसम्म कक्षा ८ को नगरस्तरीय परीक्षामा निल हुने बेहडाबाबा माविको गुणस्तर बढेको विद्यालयका प्रधानाध्यापक नरेशराज रेग्मीले बताएका छन्। ‘केही वर्ष अघिसम्म कक्षा ८ मा निल हुने गरेको हाम्रो विद्यालय अहिले नगरभित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालयमा पर्न थालेको छ,’ उनले भने।
उपमहानगरले शैक्षिक सुधार कार्यक्रम लागू गरेपछि पूर्वाधार र नतिजामा सुधार आएको उनको भनाइ छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।