अर्थतन्त्र

सरकारसँग ओलाङचुङबासीको आग्रह: टिप्ताला नाका सञ्चालन नाका सहज होस्

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका नागरिकले टिप्ताला नाका सञ्चालन, अन्तरदेशीय वस्तु विनिमय र सीमापास परिचयपत्रका विषयमा सहजीकरण गरिदिन जिल्लास्थित सुरक्षा अधिकारीको ध्यानाकर्षण गराएका छन्।

ओलाङचुङगोला पुगेका जिल्लास्थित सुरक्षा अधिकारीसँग वडाध्यक्ष छेतेन वालुङ शेर्पाको समन्वयमा गोलामा भएको छलफलका क्रममा स्थानीय नागरिकले समसामयिक सवाल उठाउँदै सरकारसँग समन्वय र सहजीकरण गरिदिन आग्रह गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, जिल्ला प्रहरी प्रमुख कमल बजगाईं, सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओली तथा आउट बोर्डर पोस्टका सशस्त्र प्रहरी निरीक्षक लोकेन्द्र प्रसाईंसहितका सुरक्षा अधिकारीसँग स्थानीयले समस्या राख्दै सरकारसँग आवश्यक सहजीकरण गरिदिन आग्रह गरेका हुन्।

विज्ञापन

गोलाका बासिन्दा दोर्जे शेर्पाले ओलाङचुङगोलादेखि ताप्लेजुङ सदरमुकाम फुङ्लिङ जोड्ने सडक र गोलादेखि नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने टिप्ताला नाका तत्काल सञ्चालन हुने अवस्था सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए।

‘यो सडक तीन देशलाई जोड्ने रणनीतिक महत्त्वको सबैभन्दा छोटो सडक हो। तर, यसलाई स्थायी रूपमा सञ्चालनमा ल्याउन सरकारको ध्यान जान सकेको छैन,’ शेर्पाले प्रमुख जिल्ला अधिकारी ढकाललाई नागरिकका समस्या सरकारसमक्ष पुर्‍याइदिन आग्रह गरे।

अर्का स्थानीय नुपु शेर्पाले रिउ बजारमा आफ्ना उत्पादनको बिक्री हुन सक्ने व्यवस्था मिलाउन आग्रह गर्दै अन्तरदेशीय वस्तु विनिमयको बाटो खुलाउन सरकारले विशेष ध्यान दिनुपर्ने बताए। उनले हाल कायम रहेको सीमापास परिचयपत्रको नवीकरण अवधि एक वर्षको सट्टा पाँच वर्ष पुर्‍याउनसमेत आग्रह गरे।

स्थानीय नागरिकका समस्या सुनेपछि प्रमुख जिल्ला अधिकारी ढकालले तमोर करिडोरअन्तर्गत रहेको सुभाङखोला–दोभान–ओलाङचुङगोला सडक सबै हिसाबले महत्त्वपूर्ण रहेको बताए। उनले उक्त सडक चाँडो सञ्चालनमा ल्याउने प्रक्रियामा आफूहरूले सहजीकरण गर्दै आएको जानकारी दिए।

‘तपाईंहरूले उठाउनुभएका समस्यालाई संवेदनशील भएर हेरेको छु। मैले सक्ने तत्काल सम्बोधन गर्छु। माथिल्लो निकायमा प्रेषित गर्नुपर्ने विषय तत्काल सम्बन्धित निकायमा पठाउनेछु,’ प्रमुख जिल्ला अधिकारी ढकालले भने।

सीमापास परिचयपत्रको नवीकरण अवधि तत्कालै एक वर्षबाट पाँच वर्ष बनाउने प्रावधान नरहेको स्मरण गराउँदै प्रमुख जिल्ला अधिकारी ढकालले सीमापास परिचयपत्रका लागि सदरमुकाम आउन नसक्ने लाभग्राहीको हकमा वडाध्यक्ष शेर्पामार्फत जिल्ला प्रशासन कार्यालयमा निवेदन प्राप्त भए नवीकरणको प्रक्रिया अघि बढाउन सकिने जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी ढकालले विकास निर्माणका काममा स्थानीयले सहयोग र खबरदारी दुवै गर्नुपर्ने बताए। जलविद्युत्सहितका आयोजना निर्माणले स्थानीय समुदायलाई आर्थिक र सामाजिक दुवै हिसाबले सहयोग पुग्ने बताउँदै उनले सकारात्मक काम र विकास आयोजनालाई सहयोग गर्न तथा आवश्यक खबरदारीसमेत गर्नुपर्ने धारणा राखे।

प्रमुख जिल्ला अधिकारी ढकालले ओलाङचुङगोलाका वडाध्यक्ष शेर्पाले स्थानीय नागरिकका समस्याप्रति गहिरो चासो लिने गरेको तथा नागरिकका सवालमा असल समन्वयकर्ता र सहजकर्ताको भूमिका निर्वाह गरेको बताए। उनले यस्ता व्यक्तिहरूको साथमा रहेर स्थानीय समुदायको संरक्षणमा जुट्नसमेत आग्रह गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।