कृषि क्षेत्रका समस्या समाधान, किसानको उत्पादनको उचित मूल्य र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय किसान सञ्जालले सरकारसँग ११ बुँदे माग अघि सारेको छ । सञ्जालले माग सम्बोधन नभए चरणबद्ध रूपमा देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत सञ्जालले कृषि सामग्रीको मूल्यवृद्धि नियन्त्रण, कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण तथा खरिदको सुनिश्चितता, बाढीपीडित किसानको पुनःस्थापना, दुग्ध किसानको बक्यौता भुक्तानी र रासायनिक मलको सहज आपूर्तिलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।
सञ्जालले सरकारले धानको समर्थन मूल्य तोके पनि सोही मूल्यमा खरिद सुनिश्चित गर्न नसकेको जनाएको छ । सरकारले मोटा धानको प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको तीन हजार ८६० रुपैयाँ समर्थन मूल्य निर्धारण गरे पनि किसानले बाध्य भएर कम मूल्यमा बिक्री गर्नुपरेको उसको भनाइ छ । धानसँगै गहुँ, मकै, कोदो, तरकारी र फलफूलको उत्पादन लागतका आधारमा न्यूनतम समर्थन मूल्य तोकी खरिदको व्यवस्था गर्न पनि माग गरिएको छ ।

दुग्ध किसानको समस्या सम्बोधन गर्न दूधको मूल्य प्रतिलिटर १५ रुपैयाँ बढाएर ८० रुपैयाँ पुर्याउन सञ्जालले माग गरेको छ । सरकारी तथा निजी डेरी उद्योगबाट किसानले पाउन बाँकी बक्यौता तत्काल भुक्तानी गर्न र दूध खरिद गरेको बढीमा एक साताभित्र भुक्तानी पाउने कानुनी व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।
रासायनिक मलको अभावले हिउँदे बाली प्रभावित भएको उल्लेख गर्दै सञ्जालले मलको नियमित आपूर्ति, पारदर्शी वितरण प्रणाली र स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्न माग गरेको छ ।
बाढीबाट प्रभावित किसानका लागि पनि सञ्जालले राहत तथा पुनःस्थापनाको माग अघि सारेको छ । गत असोज १० गते भोटेकोशी र त्यसपछि बुढीगण्डकी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखालगायत जिल्लाका किसान प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ । बाढीबाट खेतीयोग्य जमिन, बाली, पशुपन्छी र घरटहरामा क्षति पुगेकाले प्रभावित किसानलाई निःशुल्क मल, बीउ, सिँचाइ र विद्युत् उपलब्ध गराउन तथा मालपोत मिनाहा, निर्व्याजी कर्जा र उत्पादन अनुदानसहितको राहत प्याकेज ल्याउन माग गरिएको छ ।
त्यस्तै, पूर्वी जिल्लामा उत्पादित सुपारीको निर्यात सहज बनाउन डीएनए परीक्षणसम्बन्धी प्रावधान हटाउन, उखुको समर्थन मूल्य प्रतिक्विन्टल एक हजार २५ रुपैयाँ निर्धारण गर्न र चिनी उद्योगले किसानलाई तिर्न बाँकी रकम तत्काल भुक्तानी गर्न सञ्जालले आग्रह गरेको छ ।
वन्यजन्तुबाट बालीमा हुने क्षतिको उचित मूल्याङ्कन गरी पर्याप्त क्षतिपूर्ति उपलब्ध गराउन, मध्यवर्ती क्षेत्रका बासिन्दाको जीविकोपार्जन र अधिकार सुनिश्चित गर्न तथा भूमिहीन, दलित र सुकुम्वासीका समस्या न्यायोचित प्रक्रियाबाट समाधान गर्न पनि माग गरिएको छ ।
मधेस प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका किसानलाई सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित अघि बढाइएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का प्रक्रिया रद्द भएपछि निर्माणमा अन्योल सिर्जना भएको भन्दै सञ्जालले आयोजना तत्काल अघि बढाउन माग गरेको छ ।
सरकारले किसानका मागलाई बेवास्ता गरी आश्वासनमा मात्रै सीमित राखे देशभरका किसान सङ्गठनलाई एकताबद्ध गरेर चरणबद्ध आन्दोलन सञ्चालन गर्ने सञ्जालले चेतावनी दिएको छ ।
राष्ट्रिय किसान सञ्जालका संयोजक डा. प्रेम दंगालद्वारा जारी विज्ञप्तिमा नौवटा किसान तथा कृषि अधिकारसम्बन्धी सङ्घसंस्था आबद्ध रहेको उल्लेख छ ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।