नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफूले साढे तीन दशकसम्म साथ दिएका पार्टीका शीर्ष नेताहरूले चुनाव लड्ने बेला मैदानमा एक्लै छाडेको भन्दै असन्तुष्टि पोखेका छन्।
राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राठौरले आफू सभापतिमा निर्वाचित भए पार्टीमा न्याय, मर्यादा र अनुशासन कायम गर्ने दाबी गरे।
पार्टीको जिम्मेवारीमा बसेर निर्वाचनमा आफ्नै पार्टीलाई हराउन भूमिका खेल्ने केन्द्रीय सदस्य, जिल्ला तथा क्षेत्रीय सभापतिलाई पार्टीबाटै निष्कासन गर्ने चेतावनी उनले दिए।

आफूलाई कुनै व्यक्तिको नभई पार्टीको आधिकारिक संस्थापन पक्षधर दाबी गर्दै राठौरले भने, ‘मैले ३५ वर्ष जुन नेताहरूलाई साथ दिएँ, आज तिनै नेताहरूले मलाई उम्मेदवार बनाएर गगनजी विरुद्ध मैदानमा उतार्नुपर्थ्यो। तर आज म एक्लै उभिनुपरेको छ, यसमा सबैको कमजोरी छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसलाई भित्तामा पुर्याएको र कम्युनिस्टहरू एकजुट भइरहेको अवस्थामा कांग्रेसभित्र दुईवटा महाधिवेशनको अभ्यास हुनु खतरनाक भएको उनले टिप्पणी गरे।
निर्वाचन आयोग र सर्वोच्च अदालतको फैसलापछि रुख र चारतारे झन्डा जोगाउन आफू संस्थापन पक्षमै अडिग रहेको उनको भनाइ थियो।
आफ्नो क्षेत्रको अधिवेशन ढिलाइ भएका कारण महाधिवेशनको उद्घाटन सत्रमा समेत उपस्थित हुन नपाएको गुनासो गर्दै राठौरले चुनावी नतिजा जे आए पनि राजनीति नछाड्ने बताए।
यसपटक जित्न नसके पनि १६औं महाधिवेशन जित्ने लक्ष्यका साथ आफू देशभर संगठन निर्माणमा खटिने उनले सुनाए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।