नेपाली चलचित्र क्षेत्रका दुई चर्चित अभिनेत्री रेखा थापा र पूजा शर्माबीच बुधबार सामाजिक सञ्जालमा जुहारी चल्यो।
केही घण्टाको अन्तरालमा एक-अर्कालाई लक्षित गर्दै स्टाटस सार्वजनिक भए। स्टाटसहरूले उनीहरूबीच ठूलै खटपट सुरु भएको भान हुन्छ।
बुधबार रेखाबाट एक स्टाटस भयो। उनले सामाजिक सञ्जालमा लेखिन्- ‘ए आमा… ‘बहुलाउँछु कि क्या हो ?’ बाँकी आज बेलुकी ५ बजे।’

रेखाको यो स्टाटसपछि अभिनेत्री पूजा शर्माले केही बेरमै कटाक्ष गरिन्। पूजाले जवाफ फर्काउँदै लेखिन्- ‘बहुलाउँछु कि क्या हो रे ?… तिमी बहुलाऊ कि जेसुकै गर। ल, म पनि हेरौंला… आज बेलुका ५ बजे के हुँदो रहेछ।’
सामाजिक सञ्जालमा यी दुई अभिनेत्रीबीचको अप्रत्याशित आक्रामकता देखेर फ्यानहरू अलमलमा परे। के साँच्चै उनीहरूबीच व्यक्तिगत दुश्मनी सुरु भएको हो त ? वा आज बेलुकी ५ बजे कुनै ठूलो विवाद सार्वजनिक हुँदैछ ?
तर, वास्तविकता भने देखाइएको जस्तो नाटकीय छैन। भित्रि पाटो केलाउँदा यो कुनै व्यक्तिगत शत्रुता नभई दर्शकको ध्यान खिच्ने एउटा चलाखीपूर्ण प्रचार शैली मात्र हो।
यी दुई अभिनेत्रीबीचको यो नोकझोक आगामी चलचित्र ‘३६ को आँकडा’ को प्रचारका लागि रचिएको योजनाबद्ध रणनीति हो। स्वयं रेखा थापाको निर्माण रहेको यस चलचित्रको शीर्षकसँग मेल खाने गरी उनीहरूले सामाजिक सञ्जालमा यस्तो भर्चुअल विवादको नाटक गरेका हुन्।
चलचित्रमा रेखा र पूजाका साथै निरूता सिंह, महेश त्रिपाठी र पुष्प खड्कालगायतका कलाकारको मुख्य अभिनय रहेको छ। यो चलचित्र आगामी मंसिर १७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।