नेपाली चलचित्र क्षेत्रको सफल शृंखला ‘कबड्डी’ को पाँचौं शृंखला ‘कबड्डी ५’ आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउँदै छ।
यसपटकको भागमा मुख्य पात्र ‘काजी’ सामाजिक र बदलिँदो राजनीतिक परिवेशको प्रभावमा देखिनेछन्।
चलचित्रका निर्देशक रामबाबु गुरुङका अनुसार प्रेमको सङ्घर्ष पार गरिसकेको काजीको जीवनमा अब प्रेमसँगै परिवार, समाज, साथीभाइ र व्यक्तिगत जिम्मेवारीको प्रभाव दर्शकले देख्न पाउनेछन्।

‘प्रेम पाएपछि त्यसको व्यावहारिक पाटो पनि सुरु हुन्छ,’ निर्देशक गुरुङले भने, ‘प्रेमपछिको त्यही व्यावहारिक पाटोलाई पर्दामा उतार्न नै ‘कबड्डी ५’ बनेको हो।’
पहिलो भागदेखि पाँचौंसम्म आइपुग्दा काजीको चरित्र र उसको जीवन भोगाइमा उल्लेख्य परिवर्तन आएको अभिनेता दयाहाङ राई बताउँछन्। विगतका शृंखलाको तुलनामा यसपटक काजीको प्राथमिकता र सोचाइ परिपक्व र फरक रूपमा प्रस्तुत हुने उनको भनाइ छ।
मैयाँ फर्किँदा काजीको मनमा हलचल
‘कबड्डी’ शृंखलामा काजी र मैयाँबीचको सम्बन्ध मुख्य आकर्षण रहँदै आएको छ। पाँचौं भागमा फेरि मैयाँसँग जम्काभेट हुँदा काजीको मनमा पुरानो प्रेमले ल्याउने तरङ्ग स्वाभाविक हुने दयाहाङले बताए। तर यसपटक काजी केवल प्रेम प्राप्तिको पुरानै घेरामा अल्झिने छैन।
‘यसपटक उमेर, इनर्जी र आफ्नोपनभन्दा पनि परिवार, समाज र साथीभाइजस्ता धेरै कुरासँग काजीले सम्झौता गर्छ, किनभने त्यहाँ उसका सपनाहरू जोडिएका छन्,’ अभिनेता राईले भने, ‘हिजो प्रेम प्राप्त गर्नु मात्र उसको ध्येय थियो, यसपटक भने उसले धेरै कुरासँग सम्झौता गरेर अघि बढ्छ।’
जीवनभर प्रेम गरेको आफ्नो ‘सोल्टिनी’ अर्थात् मैयाँ फेरि फर्केर आउँदा काजीको जीवनमा एकपटक ठूलै हलचल भने पैदा हुने उनले खुलाए।
‘कबड्डी ५’ मा काजीको व्यक्तिगत जीवनसँगै समसामयिक राजनीतिक परिवेशको छाया पनि देख्न पाइनेछ। चलचित्रको मूल विषय नै राजनीति नभए पनि समयसँगै आएको राजनीतिक परिवर्तनले पात्रहरूको जीवन र मानसिकतामा पारेको प्रभावलाई कथामा समेटिएको दयाहाङको भनाइ छ।
‘पछिल्लो समयको राजनीतिले समाजमा पारेको असर, राजनीतिक परिवर्तनसँगै नागरिकमा पलाउने अपेक्षाहरू र त्यसपछिका सपनाहरूको प्रभाव यसपटक देख्न सकिनेछ,’ उनले सुनाए।
निर्देशक गुरुङकै कथा लेखन रहेको यस चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा रहेका छन्।
त्यस्तै चलचित्रको सहायक भूमिकामा पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय रहेको छ।
बहुप्रतीक्षित य चलचित्र आगामी कात्तिक ६ गतेदेखि देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।