खेलकुद

व्यक्तिगत तलब खेलाडी उत्पादनमा

सरकार खेल र खेलाडीप्रति उदासीन बन्दै गइरहेका बेला दैलेखको ठाँटीकाँध–३ बहाकोटस्थित भवानी माध्यमिक विद्यालयका शिक्षक गणेश खनाल आफ्नै तलब खर्चेर भलिबलका खेलाडी उत्पादन गरिरहेका भेटिन्छन्। आफ्नो तलव भलिबल कोच एवं स्थानीयदेखि प्रदेशसम्म हुने खेलसम्ममा खेलाडीलाई सहयोग गर्ने गर्दछन्।

खेलकुदको विकास भाषण, योजना र सरकारी बजेटले मात्रै सम्भव हुँदैन। त्यसका लागि खेलप्रतिको गहिरो मोह, निरन्तर सक्रियता र केही गर्ने दृढ इच्छाशक्ति पनि चाहिन्छ। यस्तै इच्छाशक्ति र समर्पणका पर्याय बनेका छन् दैलेखका शिक्षक गणेश खनाल। जसले आफ्नो जीवनका दुई दशकभन्दा बढी समय भलिबल खेलको विकास र नयाँ प्रतिभा उत्पादनमा समर्पित गर्दै आए।

पेसाले शिक्षक भए पनि खनालको परिचय कक्षाकोठाभित्र मात्र सीमित छैन। विद्यालयमा विद्यार्थीलाई पढाउने जिम्मेवारी पूरा गरेपछि उनको अर्को कर्मथलो बन्छ खेलमैदान। गाउँबस्तीमा छरिएर रहेका भलिबलप्रेमी युवाको प्रतिभा पहिचान गर्ने, उनीहरूलाई खेलप्रति आकर्षित गर्ने र अनुशासित खेलाडीका रूपमा तयार पार्ने काममा उनी विगत २०–२१ वर्षदेखि निरन्तर खटिरहेका छन्।

विज्ञापन

उनका लागि भलिबल केवल मनोरञ्जन वा समय बिताउने माध्यम मात्र नभएर नयाँ पुस्ताको प्रतिभा उजागर गर्ने र गाउँको पहिचान स्थापित गर्ने खेल रहेको छ। यही सोचका साथ उनी वर्षाैंदेखि खेलाडीको खोजी, प्रशिक्षण र क्षमता अभिवृद्धिमा जुटिरहेका छन्।

वडा तथा पालिकास्तरमा सम्भावना बोकेका खेलाडीलाई प्रतिस्पर्धाको अवसर दिलाउँदै जिल्ला हुँदै प्रदेशस्तरसम्म पुर्‍याउने उनको प्रयास निरन्तर जारी छ। शिक्षक पेसा रोजेका खनाल आफैँ भलिबलका चर्चित खेलाडी हुन्। खेलाडी उत्पादन गर्न समय दिनु, उनीहरूको कमजोरी पहिचान गरी सुधारका लागि मेहनत गर्न‘ र प्रतियोगितासम्म पुग्ने वातावरण बनाउनु उनको नियमित कर्मजस्तै बनेको छ। विद्यालयको जिम्मेवारी, व्यक्तिगत जीवन र सामाजिक दायित्वबिच सन्तुलन मिलाउँदै उनले भलिबललाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाएका कारण दैलेखमा उनको नाम भलिबल खेलाडीका रूपमा चर्चित छ।

खेल्ने इच्छा र क्षमता हुँदाहुँदै पनि आर्थिक अभावका कारण कुनै खेलाडी अवसरबाट वञ्चित नहोस् भन्ने उनको चाहना छ। यही कारण आवश्यक पर्दा आफ्नै तलब र व्यक्तिगत आम्दानी खर्चेर खेलाडीलाई खेलमैदानसम्म पुर्‍याउने गरेका छन्। खेलाडीको यातायात, व्यवस्थापन र प्रतियोगितामा सहभागिताका लागि आर्थिक समस्या देखिए उनी आफैं सहयोगका लागि अघि सर्छन्।

अरूका लागि आफ्नो आम्दानी बचत र व्यक्तिगत आवश्यकतामा खर्च गर्ने विषय प्राथमिक हुन्छ तर, खनालका लागि भने यो विषय आर्थिक अभावमा रहेका खेलाडी, उनीहरूको प्रगति र प्रतिस्पर्धामा सहभागी गराउने अवसर हुन्छ। आफूले खर्च गरेको रकमभन्दा खेलाडीले पाउने अवसरलाई ठूलो आम्दानीको रूपमा लिइरहेको शिक्षक खनाल बताउँछन्।

गाउँमा खेलाडी तयार गर्नेदेखि अवसरका लागि विभिन्न ठाउँमा हुने प्रतियोगितामा सहभागी गराउन सहयोग नपाउँदा आफ्नै खर्चमा सो कार्य गर्ने गरेको उनी बताउँछन्।

यस अवधिमा उनले कति समय खर्चिए, कति आर्थिक भार उठाए र कति व्यक्तिगत अवसर त्यागे भन्नेभन्दा पनि उनले स्थानीय खेलकुदमा जग बसाल्न गरेको प्रयास महत्त्वपूर्ण रहेको आठबिस नगरपालिकाका स्थानीय अगुवा गणेशबहादुर शाहीले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।