ल्याटिन अमेरिका र क्यारिबियनका नौ देशमा वातावरणीय अपराधविरुद्ध गरिएको अन्तर्राष्ट्रिय कारबाहीमा २३३ जना पक्राउ परेका छन्।
इन्टरपोलको समन्वयमा भएको यस कारबाहीमा एक हजारभन्दा बढी जीवित जनावर बरामद भएका छन् भने ६० हजार हेक्टर वन अवैध रूपमा फँडानी गरिएको पाइएको छ।
‘अपरेसन माद्रे टिएरा आठौं’ जुन १ देखि जुलाई ३१ सम्म सञ्चालन भएको थियो। यसमा कोलम्बिया, कोस्टारिका, डोमिनिकन गणराज्य, एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस, मेक्सिको, निकारागुआ र पानामा सहभागी थिए। अनुसन्धानकर्ताले मध्य र दक्षिण अमेरिकालाई जोड्ने क्षेत्रमा अवैध काठ र वन्यजन्तु तस्करीका सञ्जाल ठुलो स्तरमा सञ्चालन भइरहेको पत्ता लगाएका थिए।

कारबाहीका क्रममा वातावरणीय अपराधमा संलग्न भएको आशंकामा ३१२ जना पहिचान भएका छन्। ३१३ वटा वस्तु बरामद गरिएका छन्, जसमा करिब ४.६ टन साइनाइड, पारो र गोलीसमेत छन्।
इन्टरपोलका अनुसार विभिन्न देशबाट प्राप्त सूचना जोडेर अनुसन्धानकर्ताले अवैध वन फँडानी, खानी र वन्यजन्तु तस्करीमा संलग्न सञ्जाल पहिचान गरेका थिए। त्यस्ता गतिविधिबाट आर्थिक लाभ लिने व्यक्ति तथा कम्पनीमाथि पनि अनुसन्धान गरिएको थियो।
कोलम्बियामा अमेजन क्षेत्रमा ५२ हजार हेक्टरभन्दा बढी संरक्षित वन फँडानी गरेको आशंका गरिएका ११ विदेशी कम्पनीमाथि अनुसन्धान गरिएको थियो। यस क्रममा थप १६१ कम्पनी र ६५ व्यक्तिसँगको सम्बन्ध पत्ता लागेको इन्टरपोलले जनाएको छ। कारबाहीका क्रममा १६ जना पक्राउ परेका छन्।
कोस्टा रिकामा अवैध सुन निकाल्न प्रयोग हुने करिब ४.६ टन साइनाइड र पाराका ११ कन्टेनर बरामद गरिएको थियो। मेक्सिकोमा बाघ, सिंह, ओसेलट र जगुआरसहित ठुला बिरालाका विभिन्न प्रजाति बरामद गरिएको छ।
निकारागुआमा सुगा तथा हरियो र रातो मकाउसहित विभिन्न विदेशी चराहरू बरामद गरिएका छन्। त्यस्तै, करिब १६५ किलो सुकाइएको शार्कको पखेटा पनि बरामद गरिएको थियो। यसको अनुमानित मूल्य दुई लाख ८० हजार अमेरिकी डलर रहेको इन्टरपोलले जनाएको छ।
इन्टरपोलका वातावरणीय सुरक्षा सहायक निर्देशक थोमस उंगरबुहेलरले वातावरणीय अपराध सीमापार हुने भएकाले विभिन्न देशबिचको सहकार्य आवश्यक रहेको बताए। यस्ता सञ्जाल पहिचान गरी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहकार्य महत्त्वपूर्ण रहेको उनको भनाइ छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।