ट्युनिसियामा विवाहका बेला बेहुलीलाई शीरदेखि पाउसम्म सुनजस्तै चम्किने पहिरनले ढाक्ने परम्परा छ।
त्यहाँ बेहुलीलाई भारी सुनौलो कपडा र गहनाले सजाइन्छ। यस्तो पहिरनमा सजिएकी एक बेहुलीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
भिडियोमा बेहुलीको पहिरन यति भारी देखिन्छ कि उनलाई एक्लै हिँड्नसमेत गाह्रो भएको छ। परिवारका सदस्यले हात समातेर अगाडि बढाएको देखिन्छ। उनको अनुहारसमेत पहिरनले छोपिएकाले अगाडि हेर्न कठिन भएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त पहिरनमा सुनौलो कढाइ र गहनाको प्रयोग गरिएको छ। तर पहिरन पूर्ण रूपमा वास्तविक सुनबाट बनेको भने होइन।
यसमा सुनौलो धागो र सुनको जलप लगाइएका धातुका धागोबाट बाक्लो बुट्टा भरिने भएकाले निकै भारी हुन्छ। ट्युनिसियाको एउटा परम्परागत बेहुलीको पहिरनको तौल १० किलोभन्दा बढी पनि हुन्छ।
ट्युनिसियामा बेहुलीलाई विवाहका बेला यसरी सजाएर प्रस्तुत गर्ने विशेष समारोहलाई ‘जेल्वा’ भनिन्छ। मान्यताअनुसार विवाहका क्रममा बेहुलीलाई अरूको ईर्ष्या र नराम्रो नजरबाट जोगाउन अनुहारसमेत कपडाले ढाक्ने परम्परा छ।
त्यहाँका विभिन्न क्षेत्रमा बेहुलीका परम्परागत पहिरन फरकफरक छन्। कतिपय क्षेत्रमा सुनौलो धागोले कढाइ गरिएका लुगा, घुम्टो र गहना लगाउने चलन छ। यस्ता भारी पहिरन र गहना मिलाएर लगाउन विशेष सहयोगीसमेत राख्ने गरिन्छ।
अहिले ट्युनिसियाका विवाहमा आधुनिक र परम्परागत दुवै शैली अपनाइन्छ। बेहुलीले विवाहका विभिन्न कार्यक्रममा फरकफरक पहिरन लगाउँछन्।
कतिपयले औपचारिक विवाहमा सेतो गाउन लगाउँछन् भने विशेष परम्परागत कार्यक्रममा सुनौलो पहिरन लगाउने गर्छन्।
वास्तविक सुन महँगो हुने भएकाले कतिपय परिवारले सुनका पुराना गहनासँगै सुनको जलप लगाइएका गहना र पहिरनसमेत प्रयोग गर्छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।