ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

मादुरो दम्पतीविरुद्ध नयाँ अभियोग थप्ने अमेरिकाको तयारी

अमेरिकाले भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसविरुद्ध नयाँ आपराधिक अभियोग लगाउने तयारी गरेको छ।

भेनेजुएलामा थुनिएका अमेरिकी नागरिकमाथि यातना दिएको आरोपमा उनीहरूमाथि नयाँ अभियोग लगाउने तयारी भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार नयाँ अभियोग मादुरोको शासनकालमा भेनेजुएलामा एक दर्जनभन्दा बढी अमेरिकी नागरिकलाई गलत रूपमा थुनिएको घटनासँग सम्बन्धित छ। ती अमेरिकी नागरिकलाई हिरासतमा राख्दा यातना दिइएको आरोपबारे अमेरिकी अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

अमेरिकी संघीय अदालतमा नयाँ अभियोगपत्र दर्ता गर्ने गरी सरकारी वकिलहरूले तयारी पूरा गरेका छन्। यस प्रकरणमा मादुरो र फ्लोरेसबाहेक यातना दिने कार्यमा संलग्न अन्य सुरक्षा अधिकारीहरूमाथि पनि अभियोग लगाउने विषयमा अमेरिकी अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्। यद्यपि, नयाँ अभियोगमा समावेश हुने सबै विस्तृत विवरणहरू औपचारिक रूपमा सार्वजनिक हुन बाँकी नै छ।

विज्ञापन

मादुरो सन् २०१३ देखि करिब १३ वर्षसम्म भेनेजुएलाको राष्ट्रपति थिए। उनको शासनकालमा अमेरिका र भेनेजुएलाबिचको सम्बन्ध निकै तनावपूर्ण बनेको थियो। अमेरिकाले मादुरो सरकारमाथि आफ्ना नागरिकलाई राजनीतिक दबाबका लागि बन्दी बनाएको आरोप लगाउँदै आएको थियो। उनको शासनकालमा भेनेजुएलामा पक्राउ परेका केही अमेरिकी नागरिकले आफूहरूमाथि हिरासतमा दुव्र्यवहार र यातना भएको दाबी गरेका थिए। उनीहरूले कुटपिट, विद्युत्को झट्का, पानीमा डुबाउने तथा लामो समयसम्म एक्लै राख्नेजस्ता व्यवहार गरिएको बताएका थिए।

भेनेजुएलाको सैनिक गुप्तचर निकायमाथि पनि बन्दीलाई यातना र दुव्र्यवहार गरेको आरोप लागेको थियो। संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा पनि भेनेजुएलाका हिरासत केन्द्रमा बन्दीमाथि यातना र जबरजस्ती बयान लिनेजस्ता गतिविधि हुने गरेको उल्लेख गरिएको थियो।

यसअघि नै मादुरो र फ्लोरेसमाथि अमेरिकामा लागुऔषध तस्करीसँग सम्बन्धित आरोप लागेको छ। अमेरिकी अभियोजनकर्ताले उनीहरूले आफ्नो राजनीतिक प्रभावको दुरुपयोग गर्दै ठुलो मात्रामा कोकिन अमेरिका पुर्‍याउन सहयोग गरेको आरोप लगाएका छन्। दुवैले ती आरोप अस्वीकार गर्दै आएका छन्।

मादुरो दम्पतीलाई गत जनवरी ३ मा अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकासस्थित उनीहरूको निवासबाट पक्राउ गरी अमेरिका ल्याएको थियो। त्यसपछि उनीहरूलाई न्युयोर्कको ब्रुकलिनस्थित संघीय हिरासत केन्द्रमा राखिएको छ।

मादुरोका वकिलहरूले उनी सार्वभौम राष्ट्रका नेता रहेकाले अमेरिकी अदालतमा मुद्दा चलाउन नमिल्ने दाबी गर्दै आएका छन्। अमेरिकी सेनाले बल प्रयोग गरेर उनलाई भेनेजुएलाबाट अमेरिका ल्याउनु पनि गैरकानुनी भएको उनीहरूको तर्क छ। मादुरोले आफ्नो पक्राउलाई ‘अपहरण’ र आफूलाई ‘युद्धबन्दी’ भएको तर्क गरेका छन्।

उनीहरूविरुद्धको लागुऔषधसम्बन्धी मुद्दाको सुनुवाइ सन् २०२७ को जुन १ बाट सुरु हुने तय भएको छ। नयाँ यातनासम्बन्धी अभियोग थपिएसँगै उनीहरूले सामना गरिरहेको कानुनी समस्या थप जटिल बन्ने देखिन्छ।

यसबिच, ६९ वर्षीया फ्लोरेसले स्वास्थ्य समस्याका कारण जेलबाट रिहा गरी घरमै बस्न दिन माग गरेकी छन्। उनका वकिलहरूले उनलाई मुटुसम्बन्धी उपचार आवश्यक रहेको भन्दै न्युयोर्क क्षेत्रमा २४ घण्टा निजी सुरक्षासहित बस्न दिन अदालतसँग अनुरोध गरेका छन्।

फ्लोरेसका वकिलका अनुसार हिरासतमा रहँदा उनको तौल करिब ११ किलो घटेको छ र दुई वटा दाँत समेत झरेका छन्। जेलभित्र भएको एउटा झगडाका क्रममा गार्डहरूले प्रयोग गरेको पेपर स्प्रेका कारण उनलाई चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने र मुटुसम्बन्धी समस्या थप बल्झिएको उनीहरूले बताएका छन्। तर अमेरिकी अभियोजनकर्ताले उनलाई रिहा गर्दा फरार हुने तथा सार्वजनिक सुरक्षामा जोखिम हुन सक्ने भन्दै उक्त मागको कडा विरोध गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।