नेपाली कांग्रेसले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि उच्चस्तरीय कार्यदल गठन गर्न सरकारसँग माग गरेको छ।
काठमाडौंबाट सर्लाहीको चक्रघट्टा गाउँपालिकास्थित सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको र ६ जना गम्भीर घाइते भएको घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको हो।
आज जारी प्रेस विज्ञप्तिमार्फत कांग्रेसले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कांग्रेसले मृतकका परिवारलाई तत्काल उचित राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क एवं प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय बनेको उल्लेख गर्दै कांग्रेसले दुर्घटनाको जोखिम न्यूनीकरण गर्न तत्काल उच्चस्तरीय कार्यदल गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
कार्यदलमार्फत दुर्घटनाका कारणहरूको गहन अध्ययन गरी सडक सुरक्षा, सवारीसाधनको अवस्था, चालकको जिम्मेवारी र यातायात व्यवस्थापनमा देखिएका कमजोरी पहिचान गर्नुपर्ने कांग्रेसको माग छ। साथै नीतिगत तथा व्यावहारिक सुधारका प्रभावकारी उपाय अवलम्बन गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।