ब्रेकिङ न्युज
विज्ञापन
समाज

भाेटेकाेशी बाढीले खाेस्याे खुसीः देखिएन चाडपर्वकाे राैनक

रसुवा बाढीयता मिथिला क्षेत्रमा धेरै सांस्कृतिक उत्सव र पारम्परिक चाडपर्व आए–गए तर त्यस बाढीमा बेपत्ता भएका यहाँका परिवारमा भने ती चाडबाड आएको महसुस भएन। सधैँ बाबुको मुख हेर्ने दिन बिहानै फोन गर्ने तथा कुनै वर्ष अनुकूल समय मिलाएर आफ्नै हातले विभिन्न परिकार छोराले खुवाएको सम्झने बर्दिबास–३ गौरीडाँडाका ध्रुव विष्टको त्यो दिन रुँदै बित्यो।

तीजमा सधैँ भाइको स्नेह र सम्झना पाउने ध्रुवकी छोरी सिर्जनाले पनि यसपालिको पर्व रुँदै बिताइन्। “प्रत्येक वर्ष भाइ तीज आउन पाँच/सात दिन पहिले नै फोन गरेर लिन आउने कुरा गर्थ्याे, सोधखोज गर्थ्याे, यसपालि भने उसकै पछिल्लो खबर सुन्न नपाएर पर्व बित्यो। अझै उसको केही पत्तो लाग्न सकेन”, सिर्जना रुँदै वेदना पोख्छिन्।

यस परिवारका सौभाग्य विष्ट भदौ १० को भोटेकोशी बाढीसँगै सम्पर्कविहीन भएपछि घरमा न चाडवाड आएको कसैलाई हेक्का छ। न आँखा नै ओभाउन पाएका छन्। भाइ सम्पर्कविहीन भएको खबरले हतास भएर दौड्दै माइतीघर आएकी सृजनालाई आफू जन्मी हुर्केको घर अहिले बिरानोझैँ लाग्दैछ। “जसले खोजी गर्थ्याे उही छैन, उसको दिदी भन्ने एक वचन सुन्न पाए मन हलुङ्गो हुने थियो”, उनी भन्छिन्, “अब त तीन साता बितिसके, कहिले पाइएला भाइको खबर ?” अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियर रहेका सौभाग्य बाढी आएसँगै सम्पर्कविहीन भएपछि परिवार गहिरो पीडामा छ।

विज्ञापन

“कैयाै पटक रसुवा र नुवाकोटका डाँडापाखा आफैँ गएर पनि खोजियो, रसुवादेखि चितवनसम्मका अस्पताल चहारिसकियो, सौभाग्यबाबुको कहीँ केही पत्ता लागेन”, पिता ध्रुव रुँदै भन्छन्, “मैले उसकी आमा, पत्नी, बहिनी र परिवारजनलाई अब कसरी सम्हाल्ने होला?”

यस्तै बर्दिबास–९ पशुपतिनगरको गोमस्ताटोलका खिलबहादुर रानाको परिवार छोरी जोया रानाको खबर पाउन बेचैन छ। रानाले आफैँ हेलिकप्टर भाडामा लिएर पनि धेरै खोजी गरे तर जोयाको कहीँ अत्तोपत्तो लागेन। रसुवास्थित जलविद्युत् आयोजनामा कम्प्युटर इन्जिनियर रहेकी जोयाले रक्षाबन्धन पर्वमा घर आउने बताएकी पिता राना सम्झिन्छन्। “रक्षाबन्धनमा आउँछु भन्थी, दुई दिन पहिले आफैँ हराई”, पिता खिलबहादुर भक्कानिदै भन्छन्। त्यसयता परेका चाडपर्व राना परिवारले केही सम्झेका छैनन्। “चाडपर्वमा घरमा सबैसँग रमाउने नै उही थिई, अब के चाडवाड आउँलान् यो घरमा?” करिब ७५ वर्षीया जोयाकी हजुरआमा रुँदै भन्छिन्।

मधेसको मिथिला क्षेत्रमा चौरचन पर्व श्रद्धा निष्ठापूर्वक मनाइन्छ। भर्खरै यो पर्व सम्पन्न भएको छ तर रसुवा बाढीमा सम्पर्कविहीन भएका मैथिल परिवारमा यसपालि चौरचन आएन। राखी, कृष्णजन्माष्टमी र चौरचन पर्व सकिए तर मेरो छोराको केही खबर आएन पिपरा–३ की ६० वर्षीया विणादेवी यादव विह्वल हुँदै भन्छिन्, “चाडपर्वमा ऊ खुब रमाउँथ्यो, यसपालि रोएरै दिन बित्दैछन्।”

जलेश्वर–१० सारीका १० वर्षीय बिटुलाल दास जतिखेर पनि पिता खोजिरहन्छन्। “कृष्णाष्टमी मेलामे बाबुसँगे मेला जायब कहैत झगडा करैछल, मुदा बिटुके बाबु त ओम्हरे हेरागेल”, अर्थात् कृष्णअष्टमी पर्वमा बाबुसँग मेला जाने भन्दै झगडा गर्थ्याे तर उसको बाबु त उतै हरायो नाति बिटुतिर देखाउँदै रसुवा बाढीमा परेर हराएका छोरा सम्झँदै सुशीलदासकी आमा भन्छिन्।

नेपाली सेनाको जागिर छाडेर पर्यटक ओसार्ने काम थालेका सुशील यसपालि यसै क्रममा रसुवाबाट सम्पर्कविहीन भएका हुन्।

रसुवाबाढीसँगै सम्पर्कविहीन एका मटिहानी–७ का गङ्गाराम मण्डलकी ६५ वर्षीय आमा ललितादेवी मण्डल बुहारी र चार नातिनातिना देखाउँदै अब यिनीहरूको चाडपर्वको रउस नफर्कने हो कि भन्ने चिन्ता गर्छन्। यसपालिको विनाशकारी रसुवा बाढीले धन सम्पत्ति र भौतिक संरचनामात्र नभएर मान्छेको मन पनि बगाएको छ।

भोटेकोशी बाढी रसुवा नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन छिचोल्दै भारत पस्यो। आफ्नो गृह जिल्लाबाट सयौँ कोष टाढाको त्यो बाढीले अहिले महोत्तरीका कैयन बस्तीमा रुवाबासी मच्चाएको छ।

एकपछि अर्को गर्दै चाडपर्व आइरहेका बेला सम्पर्कविहीन परिवारको छटपटी झन्झन् बढ्दो छ। परिवारको प्रतिपालको मुख्य जिम्मेवारी सम्हालेकाहरू नै हराएपछि यहाँ कुनै चाडपर्व भित्रिन सकेका छैनन्। रसुवा बाढीमा परी महोत्तरीका १० जना सम्पर्कविहीन छन्। सिङ्गो जिल्लामै अहिले जताततै तीनै १० सम्पर्कविहीनबारे चिन्ता र चासो पाइन्छ। सम्पर्कविहीन परिवारले सरकार, खोज, उद्धारमा कार्यरत जनशक्ति र सम्बद्ध पक्षसँग आफ्ना मान्छेको एकिन अवस्था स्पष्ट पारिदिन अनुनयविनय गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।