पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले वर्तमान बालेन सरकारको कामकारबाहीबाट आम जनता पूर्णतः असन्तुष्ट भइसकेको दाबी गरेका छन्।
उनले सरकारको दिशाहीनता र अकर्मण्यताको फाइदा उठाउँदै कथित जेन-जी आन्दोलनको आवरणमा गत २४ गते मच्चाइएको विध्वंसका पछाडि अमेरिकी योजना रहेको आरोप समेत लगाएका छन्।
नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै नेता खनालले सरकारको ६ महिनाको कार्यकाल र देशमा भइरहेको बाह्य चलखेलबारे सुनाएका हुन्।

‘म मात्र होइन, आम जनता नै सन्तुष्ट छैनन्’
सरकारको ६ महिने कार्यकालको समीक्षा गर्दै नेता खनालले सरकार पूर्ण रूपमा दिशाहीन बनेको बताए।
‘म मात्र असन्तुष्ट भएको होइन, आज देशका आम जनता नै वर्तमान बालेन सरकारसँग सन्तुष्ट छैनन्,’ खनालले भने, ‘अंग्रेजीमा एउटा भनाइ छ, ‘मर्निङ शोज द डे’। बिहान कस्तो हुन्छ भन्ने कुराले दिनभरको अवस्था देखाउँछ। ६ महिना बितिसक्दा पनि यो सरकारले जनतालाई कुनै नयाँ आशा र भरोसा दिन सकेको छैन।’
उनले थपे, ‘हरेक वर्ष १० देखि १५ प्रतिशत मूल्यवृद्धि भइरहेको छ। गरिब, मध्यम किसान, श्रमिक र सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ। दुई लाख शिक्षकहरू राजधानीको सडकमा सातु-सामल बोकेर नयाँ शिक्षा ऐन माग्दै आन्दोलनमा उत्रिँदा समेत सरकार कानमा ठेडी हालेर बस्यो।’
नेता खनालले गत २४ गते देशका विभिन्न भागमा भएको आगजनी र तोडफोडलाई बाह्य शक्तिको प्रायोजित षड्यन्त्रको भएको बताए।
‘कथित जेन-जी आन्दोलनको नाममा २४ गते जे विध्वंस मच्चाइयो, त्यो देशी-विदेशी प्रतिक्रियावादी जत्थाले गराएको हो,’ खनालले आरोप लगाए, ‘अमेरिकीहरूले लामो समयदेखि यसको व्यापक योजना बनाएका थिए। उनीहरूले आफ्ना अनेक एनजिओमार्फत यहाँ अर्बौं रुपैयाँ खन्याए र वितण्डा मच्चाए। त्यो योजनामा संलग्न कतिपय पात्रहरू त अहिले सत्तामै छन्।’
साम्राज्यवादले सधैँ कमजोर राष्ट्रहरूमाथि हस्तक्षेप गर्न खोज्ने बताउँदै उनले शासकहरूको कमजोरीका कारण बाह्य शक्तिहरूले खेल्ने मौका पाएको उल्लेख गरे।
दलहरूले जनताका आधारभूत समस्या समाधान गर्न नसक्दा उत्पन्न आक्रोशलाई विदेशी शक्तिले आफ्नो स्वार्थमा उपयोग गरेको खनालको विश्लेषण छ।
‘दलहरू आत्मक्रेन्दित र दिशाहीन भएपछि जनता निराश हुनु स्वाभाविक थियो,’ खनालले भने, ‘२०१६ देखि २०२६ सम्मको १० वर्षको अवधिमा मात्रै ८० लाख युवाहरू रोजगारीका लागि विदेशिन बाध्य भएका छन्। जनतामा आक्रोश थियो, तर त्यो जनआक्रोशलाई विदेशी शक्तिहरूले आफ्ना एजेन्टमार्फत विध्वंस र तोडफोडमा रूपान्तरण गरिदिए।’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।