नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता इन्द्र आङ्वोले वामपन्थी शक्तिविरुद्ध अर्को मोर्चा बनाउने कार्यमा आफूहरू नरहेको बताएका छन्।
नेकपा कोशी प्रदेशसभा संसदीय दलका नेता तथा कोशी सरकारका पूर्व अर्थमन्त्री समेत रहेका आङ्वोले लोकतान्त्रिक शक्तिसँग सदन र सडकमा सहकार्य तथा वामपन्थी शक्तिसँग निर्वाचनमा सहकार्य गर्ने रणनीति पार्टीको रहेको बताएका हुन्।
नेकपाको दुई महिने जागरण अभियान चलिरहेकै बेला ताप्लेजुङ आइपुगेका आङ्वोले आइतबार फुङलिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत वामपन्थी शक्तिसँग सत्ता सहकार्य र आउने स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा कार्यगत एकताको तयारीमा पार्टी रहेको खुलाए। ‘पार्टीलाई सुदृढ र संगठित बनाएर पहिला त एक्लै निर्वाचनमा होमिने पार्टीको रणनीति हुने छ’ आङ्वोले भने, ‘दोस्रो विकल्पमा वामपन्थी शक्तिबिच निर्वाचनमा मोर्चाबन्दी गर्ने प्रक्रियामा पार्टी अघि बढ्ने छ।’

कहिकतै वामपन्थी शक्तिबिच पार्टी एकतासम्मको चर्चा भएपनि नेकपा तत्काल पार्टी एकताभन्दा चुनावी एकताको पक्षमा रहेको उनको भनाइ थियो। उनले स्थानीय तह र प्रदेशसभामा लोकतान्त्रिक तथा वामपन्थी शक्तिको वर्चस्व कायम गर्दै राष्ट्रियसभामा समेत आफूहरूको उपस्थिति बलियो बनाएर संसदीय सन्तुलन कायम गर्ने पक्षमा पार्टी रहेको बताए।
दुई तिहाइ नजिकको वर्तमान संघीय सरकार अधिनायकवादतर्फ उन्मुख हुन थालेको बताउँदै आङ्वोले अधिनायकवादले मातिन थालेको सरकारलाई नियन्त्रणमा राख्न समेत स्थानीय र प्रदेशसभा निर्वाचनमा वामपन्थी शक्तिबिच चुनावी एकताको महसुस भइरहेको उनले दाबी गरे। विस्तृत शान्ति सम्झौता र १९ दिने जन आन्दोलन पक्षधरबिच सदन र सडकमा सहकार्य हुने र वामपन्थी शक्तिबिच चुनावी एकता हुनेतर्फ देशको राजनीति अघि बढेको उनले जानकारी गराए।
६ महिनासम्म दिएको शंकाको सुविधालाई सरकारले अधिनायकवादी शैलीको रूपमा रूपान्तरण गरी सरकारले देश सञ्चालनमा सही लय नसमाएको बताएका आङ्वोले सरकारले अघि सारेका सञ्चार विधेयक, सामाजिक सञ्जाल नियन्त्रण तथा नियमन विधेयकसहित कयौं कानुनी प्रावधानमार्फत जनताका अधिकार कुण्ठित गर्न थालेको आरोप समेत लगाए।
दलीय तथा संगठनात्मक सुदृढीकरण, संविधान र लोकतन्त्रको संरक्षणका लागि पार्टीले दुई महिने जागरण अभियान थालेको र जागरणकै क्रममा पार्टीका कार्यकर्ताको भावना बुझ्ने र त्यसको सम्बोधन गर्नेतर्फ पार्टी अघि बढ्ने आङ्वोको भनाइ थियो। आङ्वोले कोशी प्रदेश सरकारले ल्याएको बजेट पुनरावलोकन हुने तयारीमा रहेको समेत जानकारी दिए। ‘अबको बजेट पुनरावलोकनमा विगतमा भएको बजेटको असन्तुलन हटाएर नेता र मन्त्रीको प्रभावमा तय भएका योजना र बजेटमा सापेक्ष परिवर्तन हुने छ’ आङ्वोले भने।
कोशी प्रदेश सरकारले पारित गरेको भाषा विधेयक र कोशी प्रदेशसभा सञ्चालन नियमावलीले पहिचान र प्रदेश नामांकन पुनरावलोकनको आधार सिर्जना गरेको समेत आङ्वोले बताए। भाषा विधेयकले पहिचानको मुद्दालाई सरकारी तवरबाट लाई थप व्यवस्थित र सुदृढ गर्ने दाबी गर्दै आङ्वोले कोशी प्रदेशसभा सञ्चालन नियमावली पारित भएपछि अब सदनका केही तिहाइ सदस्यले प्रदेश नामाङ्कनको विषयलाई पुनरावलोकनका लागि सदनमा प्रस्ताव ल्याउन सक्ने बाटो खुलेको समेत बताए।
‘सदनका दुई तिहाइ सदस्यको बहुमतले पारित गरेमा कोशी प्रदेशको पुनः नामाङ्कन पनि सम्भव छ’ आङ्वोले भने। पाथीभरा केबलकारको काम ठप्प भएको विषयमा पत्रकारको जिज्ञासाबारे प्रतिक्रिया दिँदै आङ्वोले पार्टी केबलकार निर्माणको विपक्षमा नभए पनि स्थानीय सरोकारवालालाई सहमतिमा नल्याई बन्दुक र गोलीको भरमा केबलकार निर्माण गर्न भने नहुने उनको भनाइ थियो।
निजी क्षेत्रको लगानी निरुत्साहित पनि गर्न नहुने र स्थानीय सरोकारवालालाई सहमतिमा समेत ल्याएर मात्र केबलकार निर्माण गर्नुपर्ने आङ्वोले बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।