राजनीति

प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा जाने, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत जाँदै छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमणमा जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिएको हो।

प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार अपराह्न ४ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गर्ने कार्यक्रम छ। उनको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार तथा राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ अधिकारी, व्यवसायी र पत्रकार सहभागी हुनेछन्।

विज्ञापन

परराष्ट्र मन्त्रालयका अनुसार नेपालबाट प्रस्थान गर्ने सरकारी भ्रमण टोलीमा ३४ सदस्य रहनेछन्। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य पनि भ्रमण टोलीमा थपिनेछन्। त्यसैगरी निजी क्षेत्रका ५२ जना व्यवसायी आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन्। विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि आफ्नै खर्चमा भ्रमणको रिपोर्टिङका लागि भारत जानेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।

दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यासम्बन्धी विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएका विभिन्न समझदारीपत्र आदानप्रदान गरिनेछन्।

दुईपक्षीय वार्तापछि प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्।

प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय भएको छ। त्यस्तै, भारतीय विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत छ।

यसैगरी भ्रमणका अवसरमा नेपाल–भारत बिजनेस फोरम आयोजना हुनेछ। उक्त कार्यक्रममा भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका अवसर, सरकारले अवलम्बन गरेका नीतिगत दृष्टिकोण तथा लगानी आकर्षित गर्न गरिएका प्रयासबारे जानकारी गराइनेछ। नेपाली र भारतीय व्यवसायीबीच सहकार्य विस्तार गर्न यो कार्यक्रम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह मंसिर ७ गते साँझ ६ः३५ बजे नेपाल वायुसेवाको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।