अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिकूलताका बीच पनि सरकारले तोकेको लक्ष्यभन्दा धेरै भन्सार राजस्व सङ्कलन हुनुलाई सुशासनको लाभांशका रूपमा बुझ्नुपर्ने बताएका छन्।
आन्तरिक राजस्व विभागद्वारा आज यहाँ आयोजित राष्ट्रिय कर दिवस २०८३ कार्यक्रममा उनले नीतिगत सुधार र सुशासन कायम गरिएकै कारण चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको दाबी गरे।
असोज महिनामा कर राजस्वका सबै लक्ष्य पूरा भएको उल्लेख गर्दै उनले सुधारका प्रयासले नतिजा दिन थालेको बताए।

‘सरकारले अर्थतन्त्र सुधारका लागि चालेका कदम र सुशासनको लाभांशका कारण हामी प्रतिकूलताका बीच पनि अगाडि बढिरहेका छौं र राजस्वका लक्ष्य पनि भेट्टाउँदै आएका छौं,’ वाग्लेले भने।
बम्पर उपहार योजनाले सानो अंश र उत्प्रेरणाका रूपमा नतिजा ल्याएको उनको भनाइ छ। प्रणालीगत सुधारमार्फत अर्थतन्त्रलाई मूलप्रवाह र आन्तरिकीकरण गरी अघि बढाउँदा स्वेच्छिक कर अनुपालनमा समेत सकारात्मक नतिजा आउने विश्वास उनले व्यक्त गरे।
सरकारले कर प्रशासनको डिजिटल रूपान्तरण र स्वचालनलाई सुशासनको अभिन्न अङ्गका रूपमा अघि सारेको उनले बताए।
‘आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीलाई सरल, सहज, सुरक्षित, व्यवसायमैत्री र करदातामैत्री बनाउन आवश्यक प्राविधिक सुधार गर्ने काम भइरहेको छ,’ अर्थमन्त्री वाग्लेले भने।
कारोबार, लेखा प्रतिवेदन तयारी, आय विवरण पेस र कर दाखिलासम्मका प्रक्रियालाई प्रविधिमार्फत सहज र स्वचालित बनाउँदै कर प्रशासनको कार्यदक्षता अभिवृद्धि गर्न लागिएको उनले जानकारी दिए।
उद्यम तथा व्यवसाय प्रवर्द्धन, लगानी विस्तार र अर्थतन्त्रलाई चलायमान बनाउन कर नीतिमा सुधार तथा करका दर र दायरा पुनरवलोकन भइरहेको वाग्लेले बताए। उनका अनुसार भन्सार महसुल र अन्तःशुल्कसहित सबै क्षेत्रमा सुधार सुरु भएको छ।
सोही अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले नयाँ स्वरुपको करदाता पोर्टल शुभारम्भ गरे। कार्यक्रममा आन्तरिक राजस्व विभागको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन र स्मारिकासमेत विमोचन गरियो।
कार्यक्रममा विभागका महानिर्देशक भीष्मकुमार भुसालले नीतिगत सुधारका कामलाई उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।