अर्थतन्त्र

पोखरामा आन्तरिक राजस्व कार्यालयको राजस्व संकलन लक्ष्यभन्दा ४ प्रतिशत बढी

आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले कात्तिक मसान्तसम्म वार्षिक लक्ष्यको १०४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको जनाएको छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ८ अर्ब ५४ करोड ८७ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा कात्तिक मसान्तसम्म २ अर्ब ३६ करोड ५ लाख २९ हजार रुपैयाँ संकलन भएको छ।

संकलित राजस्वमध्ये आयकरतर्फ १ अर्ब २६ करोड ८२ लाख ४९ हजार रुपैयाँ र मूल्य अभिवृद्धि करतर्फ ५४ करोड ९० लाख ९६ हजार रुपैयाँ रहेको कार्यालयले जनाएको छ।

विज्ञापन

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कार्यालयले १ अर्ब ६१ करोड ८९ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। यस वर्ष सोही अवधिको तुलनामा राजस्व संकलनमा वृद्धि भएको देखिन्छ।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानाले कर कानुनको पालना गर्दै राजस्व संकलनमा योगदान गर्नु सबै नागरिकको दायित्व भएको बताए।

उनका अनुसार कार्यालयले कर छुट कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर प्रचारप्रसार गरिरहेको छ। आर्थिक ऐन, २०८३ ले करको दायरामा नआएका तथा दायरामा आएर पनि आय विवरण दाखिला नगरेका र मूल्य अभिवृद्धि कर विवरण तथा कर निर्धारण भएर पनि राजस्व दाखिला गर्न बाँकी रहेका करदातालाई विभिन्न छुट सुविधा प्रदान गरेको छ।

कर छुट सुविधा लिने अन्तिम म्याद पुस मसान्तसम्म रहेकाले समयमै यसको सदुपयोग गर्न पनि उनले करदातालाई आग्रह गरे।

कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय पोखरामा आयकरतर्फ ९० हजार करदाता दर्ता छन्। यस्तै, मूल्य अभिवृद्धि करतर्फ १५ हजार १ सय २० र अन्तःशुल्कतर्फ ५ हजार ५ सय ९६ करदाता दर्ता भएका छन्। व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या २ लाख ५२ हजार २ सय ५२ पुगेको कार्यालयले जनाएको छ।

धेरै कर तिर्ने करदाता सम्मानित

राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम–२०८३ को अवसरमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व कार्यालयअन्तर्गत सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरिएको छ।

सम्मानित हुनेमा टेम्पल ट्री रिसोर्ट, एक्सेस कन्स्ट्रक्सन प्रालि र कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।

‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नारासहित आयोजित राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापन कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमारसिंह गुरुङले राजस्व लक्ष्य प्राप्तिका लागि सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए।

उनले करदाता दर्ता, कर दायित्व, विवरण दाखिला, कर भुक्तानी, करको दायरा विस्तार, करको दर समायोजन तथा उचित दण्ड–जरिवानालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

नागरिक तथा व्यवसायीले आफ्नो कर दायित्व इमानदारीपूर्वक पूरा गर्दा राज्यको आर्थिक आधार बलियो हुने उनको भनाइ थियो। करबाट प्राप्त राजस्व नै मुलुकको विकास, सार्वजनिक सेवा प्रवाह र समृद्धिको महत्वपूर्ण आधार भएकाले सबैले कर तिर्ने संस्कार आत्मसात् गर्नुपर्ने उनले बताए।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले कर प्रशासन व्यवसायमैत्री हुनुपर्नेमा जोड दिइन्। राज्यले व्यावसायिक वातावरण सुधार गर्न आवश्यक पहल र कदम चाल्नुपर्ने उनको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।