प्रतिनिधि सभाका विभिन्न समितिको बैठक बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ।
बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ।
विधेयकमा प्रस्ताव गरिएका कानुनी व्यवस्था, संशोधनका प्रावधान तथा खारेज गर्न प्रस्ताव गरिएका कानुनका विषयमा विस्तृत छलफल हुनेछ।

यसैगरी बिहान ११ः०० बजे बस्ने उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गर्ने कार्यक्रम छ।
महिला तथा सामाजिक समितिमा दफावार छलफलका लागि प्राप्त ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन( विधेयक, २०८३’ माथि छलफल हुने छ। समितिको बैठक बिहान ९ः०० बजे बस्दै छ।
बिहान ११ः०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘चलचित्र विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूची छ।
त्यसैगरी, बिहान ९ः३० बजेका लागि निर्धारित सार्वजनिक लेखा समितिको बैठकमा सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाका सम्बन्धमा छलफल हुनेछ।
त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल र स्काडा प्रणाली विस्तार सम्बन्धमा समितिमा प्राप्त उजुरीउपर छलफल गर्ने कार्यक्रम छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।