नेपाली चलचित्र क्षेत्रका लागि ऐतिहासिक उपलब्धि हासिल गर्दै चलचित्र ‘हिमालयन गोल्ड’ले भारतभर प्रदर्शनका लागि भारतको प्रतिष्ठित वितरक ‘एए फिल्म्स’सँग सम्झौता गरेको छ। यति ठूलो स्तरको वितरकमार्फत सम्पूर्ण भारतभर एकसाथ प्रदर्शनको अवसर पाउने यो पहिलो नेपाली चलचित्र बनेको छ।
धिराज राजवंशीको निर्देशनमा तयार भएको यो चलचित्र आगामी मंसिर ४ गते (नोभेम्बर २०) रिलिज हुँदैछ। मुम्बईमा ‘एए फिल्म्स’का संस्थापक तथा भारतका शीर्ष वितरक अनिल थडानीसँग यसको औपचारिक सम्झौता सम्पन्न भएको हो।
‘एए फिल्म्स’ भारतीय सिनेमाकै सबैभन्दा ठूला र प्रख्यात वितरण कम्पनीमध्ये एक हो, जसले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजीएफ : च्याप्टर २’, ‘पुष्पा’ र ‘कान्तारा’ जस्ता ब्लकबस्टर चलचित्रहरू वितरण गरेको छ।

यसै सन्दर्भमा ‘एए फिल्म्स’का संस्थापक अनिल थडानीले भाषा र भूगोलभन्दा माथि उठेर उत्कृष्ट कथावस्तुलाई भारतीय दर्शकमाझ पुर्याउनु आफ्नो कम्पनीको उद्देश्य रहेको बताएका छन्।
भारतमा चलचित्र प्रदर्शनबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, “‘हिमालयन गोल्ड’ एउटा यस्तो चलचित्र हो, जसको उत्कृष्ट कथावस्तु सम्पूर्ण भारतीय दर्शकले अनुभव गर्नुपर्छ। यसको प्रतिभाशाली टोलीसँग जोडिन पाउनु हाम्रो लागि गर्वको विषय हो र दर्शकले भाषाको पर्खाल तोडेर यसलाई माया गर्नेछन् भन्ने हाम्रो विश्वास छ।”
यस ऐतिहासिक उपलब्धिबारे निर्देशक धिराज राजवंशीले खुसी व्यक्त गरेका छन्। उनले भने, “यो मेरो लागि मात्र नभई सम्पूर्ण नेपाली चलचित्र उद्योगकै लागि कति ठूलो कुरा हो भनेर म शब्दमा वर्णन गर्न सक्दिनँ। ‘हिमालयन गोल्ड’को सम्भावनालाई विश्वास गरेर भारतभर प्रदर्शनको अवसर दिनुभएकोमा म अनिल थडानी र ‘एए फिल्म्स’प्रति साँच्चै आभारी छु। उहाँहरूको साथले यो चलचित्र अब सबैतिरका दर्शकमाझ पुग्नेछ। हाम्रो उद्योगले निरन्तर खोजिरहेको प्रेरणा नै यही हो र मेरो पहिलो चलचित्रमै यति ठूलो साथ पाउनु मेरो लागि सबै थोक हो।”
चलचित्रमा सुनिल थापा, राहुल एन. मुखिया, परीक्षा लिम्बू, सजन थापा र कर्मा शाक्यको मुख्य अभिनय रहेको छ। यो दिग्गज अभिनेता सुनिल थापाको अन्तिम चलचित्र हो।
दशकौँसम्म नेपाली चलचित्र क्षेत्रमा अमूल्य योगदान दिएर पुस्तौँ पुस्ताका दर्शकको मनमा अमिट छाप छोड्न सफल थापाको अन्तिम प्रस्तुतिलाई नेपाल र भारतभरका दर्शकमाझ पुर्याउनु उनको भव्य विरासतप्रतिको उत्कृष्ट सम्मान हुने निर्देशक राजवंशीले बताए।
चलचित्र प्रदर्शनमा आउन अब दुई महिनाभन्दा कम समय बाँकी रहँदा यसको बहुप्रतीक्षित ट्रेलर आगामी सोमबार सार्वजनिक गरिँदैछ। निर्माण टिमले नेपाल र भारतका सिनेमा घरमा उपस्थित भएर ‘हिमालयन गोल्ड’को हिस्सा बन्न तथा पर्दामा हिमालयको भव्यताको अवलोकन गर्न सम्पूर्ण दर्शकलाई विशेष आह्वान गरेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।