प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले नयाँ बसपार्कभित्र यात्रु ठगिने सम्भावना नरहेको बताएका छन्।
सभापति गजुरेलले शुक्रबार साँझ गोंगबुस्थित नयाँ बसपार्कको अनुगमन गर्दै डिजिटल प्रणालीमार्फत टिकट काट्दा तोकिएको दरअनुसार भाडा लिइएको र टिकटमा यात्रुको नाम, ठेगाना तथा सम्पर्क नम्बर राखिएकाले ठगी हुने सम्भावना नरहेको बताएका हुन्। उनले आधिकारिक काउन्टर र प्रणालीबाट मात्र टिकट काट्न यात्रुलाई आग्रह गरे।
सभापति गजुरेलले यस वर्ष दसैँ, तिहार तथा छठमा १० देखि १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको भन्दै सोहीअनुसार व्यवस्थापन मिलाउन सम्बन्धित निकायलाई आग्रह गरे।

उनले पूर्वाधार विकास समितिले दसैँ, तिहार र छठपर्वमा यात्राको व्यवस्था सहज, सुरक्षित र व्यवस्थित बनाउन प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्कीको संयोजकत्वमा उपसमिति गठन गरेको र उक्त उपसमितिले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाइसकिएको बताए।
अध्ययन प्रतिवेदनअनुसार यात्रुको संख्याका आधारमा बस पर्याप्त रहेकाले तिनको व्यवस्थापन आवश्यक रहेको उनले उल्लेख गरे। फूलपातीदेखि नवमीसम्म यात्रुको चाप उच्च हुने भएकाले आवश्यक परे थप बस सञ्चालन गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी र सरकारी निकायका सवारीसाधनसमेत प्रयोग गर्न सकिने गरी समन्वय भइरहेको उनको भनाइ छ।
सभापति गजुरेलले चाडपर्वको समयमा यात्रु ठग्ने काम हुन नदिन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले चाडपर्वमा सहज रूपमा यातायातको प्रबन्ध गर्न महासंघ लागिरहेको बताए। नेपाल सरकारले तोकेको भाडा मात्र लिएर सवारीसाधन सञ्चालन गर्न महासंघले सबै व्यवसायीलाई निर्देशन दिइसकेको उनले बताए।
नयाँ बसपार्क सञ्चालन गर्ने ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लले सभापति गजुरेललाई बसपार्क सञ्चालनबारे जानकारी दिँदै दसैँमा घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ गर्न १५ वटा काउन्टर थप गरिएको बताए।
अनुगमनमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सडक बोर्ड नेपालका सदस्य अरुणकुमार श्रेष्ठ, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना, नगर प्रहरी नायब उपरीक्षक प्रकाश पण्डितलगायतको सहभागिता थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।