ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

टाउको जोडेर कम्युनिस्ट एकता हुँदैन, ‘आउट अफ बक्स’ जानैपर्छ: झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले शीर्ष नेताहरूबीचको पदीय भागबन्डा र अंकमालले मात्र कम्युनिस्ट आन्दोलन एकताबद्ध हुन नसक्ने ठोकुवा गरेका छन्।

उनले विखण्डित वामपन्थी शक्तिहरूलाई सैद्धान्तिक धरातलमा पुनर्गठन गर्न आफूले ‘समाजवादी जागरण अभियान’ सुरु गरेको बताए।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै नेता खनालले आन्दोलनलाई जोगाउन अब परम्परागत घेरा तोडेर ‘आउट अफ बक्स’ जानुको विकल्प नरहेको बताए।

विज्ञापन

पार्टी संयोजकलाई पूर्वजानकारी नदिई जागरण अभियान घोषणा गरेको विषयमा प्रष्टीकरण दिँदै खनालले आन्दोलन गम्भीर संकटमा परेका बेला नेतृत्वको मुख मात्र ताकेर बस्न नसकिने बताए।

‘पार्टीभित्रै बहस गर्न खोज्दा कारबाहीको डन्डा चलाइन्छ, मुख थुनिन्छ वा चुपचाप ‘हजुर’ भन्दै दास बन्नुपर्ने अवस्था छ,’ खनालले भने, ‘यस्तो अवस्थामा पार्टी रूपान्तरणका लागि अलिकति नयाँ तरिका अपनाउनैपर्छ। घरभित्रै बसिरहेर आफ्नो घर कस्तो छ भनेर देखिँदैन, त्यसका लागि बाहिर निस्कनैपर्छ। यो कुनै व्यक्ति वा समूहको नभई सिङ्गो कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ने साझा अभियान हो।’

‘अंकमालको एकता धेरै दिन टिक्दैन’

विगतमा विनासैद्धान्तिक स्पष्टता गरिएको नेकपा एकता दुर्घटनामा परेको स्मरण गर्दै खनालले अब विचार र नीतिको आधारमा मात्र ध्रुवीकरण सम्भव हुने बताए।

‘यत्तिकै टाउको जोडेर वा अंकमाल गरेर मात्र कम्युनिस्ट पार्टीहरू मिल्न सक्दैनन्,’ उनले भने, ‘हामीले २०७४ सालमा ठूलो पार्टी बनायौं, देशव्यापी जनमत पायौं। तर नीतिगत र सिद्धान्तगत रूपमा एकताबद्ध नगर्दा त्यो भताभुङ्ग भयो। अब त्यही गल्ती दोहोर्‍याउनु हुँदैन। ठोस वैचारिक कार्यदिशा, नीति र कार्यक्रमका आधारमा मात्र दिगो एकता हुन्छ।’

उनले नेकपा, नेकपा (एमाले) सहित छरिएर रहेका ६-७ वटा वामपन्थी समूह र स्वतन्त्र व्यक्तिहरूलाई यो अभियानमार्फत एउटै वैचारिक प्लेटफर्ममा ल्याउने लक्ष्य राखिएको जानकारी दिए।

नेपालमा २०६२/६३ को आन्दोलनबाट पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भए पनि दलहरूले समाजवादतर्फको यात्रा सुरु नै गर्न नसकेको खनालको आरोप छ।

‘क्रान्ति सम्पन्न भएको २० वर्ष भइसक्यो, तर कुन चाहिँ कम्युनिस्ट पार्टीले नेपाली विशेषताको समाजवादी कार्यक्रम अगाडि सार्‍यो ? कसैले ल्याएको छैन,’ खनालले प्रश्न गरे, ‘अझै पनि जबजलाई मार्गदर्शक सिद्धान्त बनाएर समाजवादमा पुग्ने कल्पना गरिँदै छ। त्यो त काशी जाने कुत्तीको बाटो जस्तै हो। जबसम्म समाजवादी कार्यदिशा, नीति र कार्यक्रमको विकास हुँदैन, तबसम्म यो आन्दोलन विसर्जनतर्फ नै जान्छ।’

कम्युनिस्ट आन्दोलनभित्र झाँगिएको व्यक्तिपूजा र सामन्ती प्रवृत्तिको आलोचना गर्दै खनालले कार्यकर्ताहरूलाई ‘अप दीपो भव’ (आफ्नो बत्ती आफैँ बन) भन्ने बुद्ध वचन स्मरण गराए।

‘नेताले भन्दैमा दास जस्तो भएर पछि लाग्ने हो भने राजनीतिक जीवन समाप्त हुन्छ,’ उनले भने, ‘बुद्धले २५ सय वर्षअघि नै कसैको अन्धानुकरण नगर्न भन्नुभएको थियो, मार्क्सले पनि त्यही भन्नुभयो। नेताले बोलेको कुरा ठीक छ कि छैन भनेर जाँच्ने विवेक कार्यकर्तासँग हुनुपर्छ। सहीलाई सही र गलतलाई गलत भन्ने आँट गर्नुपर्छ।’

एमालेको नवौं महाधिवेशनमा आफूले दुई कार्यकाल र ७० वर्षे उमेर हदको विधान पारित गराएको स्मरण गर्दै खनालले आन्दोलनलाई गतिशील बनाउन नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।